काठमाण्डौँ, १९ पुस । भारतीय विदेश मन्त्री डा एस जयशंकरले आज बिहीबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्नुभएको छ । जयशंकर राष्ट्रपतिलाई भेट्न आफ्नो टिमसहित  शितल निवास जानुभएको थियो ।

यस अघि आजै बिहान नेपाल आउनु भएका जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपीपी साउदले स्वागत गर्नुभएको थियो  ।

उहाँ दुई दिन नेपालमा हुनुहुन्छ । जयशंकर दुई देशको मन्त्रीस्तरीय बैठकमा भाग लिन काठमाण्डौ आउनु भएको हो । यसबीच उहाँले  प्रधानमन्त्री पुष्पकमल दाहाल अनि राजनीतिक दलका केही नेताहरूसित पनि भेटवार्ता गर्नु हुनेछ  ।

विदेशमन्त्री जयशंकरले आजै मध्यान्ह  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता गर्ने र त्यसपछि होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउदसँग द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

अनि  त्यहीं दुवै देशका मन्त्रीस्तरीय बैठक बस्ने र तत्पश्चात्  विभिन्न सम्झौतामा हस्ताक्षर हुने  कार्यक्रम छ ।

सरकारी कार्यक्रम सकिएपछि भारतीय विदेशमन्त्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र  एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटी राजनीतिक कुराकानी गर्नुहुनेछ ।

सरकारले आजै साँझ  विदेश मन्त्री जयशंकरको सम्मानमा सोल्टी होटलमा रात्रिभोजको कार्यक्रम राखेको छ ।

विदेशमन्त्री जयशकरका औपचारिक कार्यक्रमहरू सबै आजै सकिने छन् । उहाँ भोलि बिहान पशुपतिनाथको दर्शन गरेर  मध्यान्ह १२ बजे स्वदेश फर्कने  कार्यतालिका छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर