काठमाण्डौं, १९ पुस ।मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७८ असारमा आएको बाढीले सो आयोजनाको मुहान क्षेत्र तहसनहस बनाएको थियो। बाढीले क्षति पुर्याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ।
अब यो काम १० दिन भित्र सकिने र तदुपरान्त उपत्यकामा मेलम्चीको पानी दिन सकिने बाताइएको छ ।
यस बारे जानकारी गराउँदै आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका भन्नुभयो : आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ।अबका बाँकी काम केही कठिन रहेको छ। जस्तोसुकै परिस्थिति आए पनि अबको १० दिनभित्र काम सम्पन्न हुन्छ। पानी वितरण गर्न सकिन्छ । ’
यसैबीच बुधबार हेलम्बु–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा भइरहेको कामका बारेमा एक प्रतिनिधिमण्डलले स्थलगत अवलोकन गरेको छ।
अवलोकनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सांसद सिंह, वित्त आयोगका सदस्य जुद्द गुरुङ, विपिनराज निरौला, खानेपानी मन्त्रालयका सचिव आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीलगायतको सहभागिता रहेको थियो।
गत वर्षको बाढीले हेडवर्क्सको संरचनालाई करिब २० फिट अग्लो गेग्रानले पुरेको थियो। अहिले उक्त गेग्रान हटाएर अर्डिट सुरुङमा पसेको ढुङ्गा, गिट्टी र बालुवा झिक्ने काम भइरहेको छ।
