गलकोट, २ वैशाख । पछिल्लो समय बागलुङमा ३० वटा वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
जिल्ला डिभिजन वन कार्यालयका अनुसार जिल्लाका ३३० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ ।
ढोरपाटन शिकार आरक्षका बुँकी क्षेत्र, गलकोटको घुम्टे, रेश सिगानाको बुछुङ सल्लेरी सामुदायिक वन, मालिका सामुदायिक वनसहितमा आगलागी भएको सो कार्यालयले जनाएको छ ।
जिल्लामा सबैभन्दा बढी काठेखोलाको धम्जा, गलकोट र बरेङ गाउँपालिकाको जङ्गलमा आगलागी भएको जनाइएको छ ।
बागलुङमा मानवीय लापरवाहीका कारणले गर्दा आगलागीका घटना हुने गरेको वताइएको छ ।
चालू आर्थिक वर्षको हालसम्म आगलागीबाट रु एक करोड ८७ लाख ६३ हजार ५०० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकबाल हवारीका अनुसार आठ महिनाका अवधिमा आगलागीमा परी तीन जना घाइते, २९ चौपायाको मृत्यु र १८ चौपाया घाइते भएका छन् । त्यस्तै १९ घर र १५ गोठ पूर्णरुपमा जलेर नष्ट भएको जनाइएको छ ।
