हाङ्जाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपालले खराब सुरुआत गरेको छ ।
१९औँ एसियाली खेलकुदमा सहभागी ११ तेक्वान्दो खेलाडीमध्ये हालसम्म चार खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् ।
अन्य खेलाडीले खेल्न बाँकी छ । आज सम्पन्न खेलमा नेपालका राहुल कुमाल र अन्जली तामाङ पराजित भएका छन् ।
पुरुष ५८ किलोमुनिको तौल समूहमा कुमाल साउदी अरेबियाका खेलाडीसित पराजित भएका हुन् ।
उनी ४–१२ र २–० अंकले पराजित भए । यसैगरी महिला ४९ किलोमुनिको तौल समूहमा तामाङ प्रिक्वाटर फाइनलमा पराजित भइन् ।
उनी थाइल्याण्डकी खेलाडीसित १२–० तथा १०–० अंकले पराजित भइन् ।
तामाङले पहिलो चरणमा कम्बोडियाकी खेलाडीलाई पराजित गर्दै प्रिक्वाटर फाइनल प्रवेश गरेकी थिइन् । यसअघि तेक्वान्दोको एकल पुम्सेको पुरुषतर्फ प्रेमबहादुर लिम्बू र महिलातर्फ स्वस्तिका तामाङ पराजित भइसकेका छन् ।
एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा अब पुरुषतर्फ गोविन्दबहादुर आले, वीरबहादुर महरा, अभिषेक बराल र ज्याकी यादव तथा महिलातर्फ आयशा लामा, सन्ध्याकुमारी सिंह र इन्दिरा बस्नेतले खेल्न बाँकी छ ।
यसअघि नेपालले एसियाली खेलकुदमा तेक्वान्दोबाट एक रजत र १३ कास्य पदक प्राप्त गरेको थियो । रग्बीमा पनि नेपाल बाहिरियो यसैबीच एसियाली खेलकुद अन्तर्गत रग्बी सेभेन्समा नेपालको चुनौती समाप्त भएको छ ।
समूह ‘डि’ मा नेपालसहित युएइ, चीन र अफ्गानिस्तान रहेका थिए । नेपालले समूह चरणको तीनै खेलमा हार बेहोरेको छ ।
