काठमाडौँ, ३० भदौ : काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र हत्या गरेको अवस्थामा प्रहरीले आज विहान चार जनाको शव फेला पारेको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिनुभयो ।हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना मोरङका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ ।
मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका र अहिले घटनास्थलमा प्रहरी परिचालन भएको उहाँले बताउनुभयो । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ ।
हत्या हुनेमा सः मिल सुरक्षा गार्ड कुमार, पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ । कुमार भुजेल करिब ५६ वर्षका छन् ।
अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरिएको छ । उक्त दिव्य सःमिल दोलखा, कालीञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको बुझिन आएको छ ।विस्तृत विवरण आउन बाँकी नै छ ।
