काठमाडौं, २१ भदौ । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको डेंगु संक्रमणबाट निधन भएको छ ।
ग्राण्डी अस्पतालमा उपचारका क्रममा रहेका उनको आज विहान निधन भएको । डेंगु संक्रमणपछि एक साता अघि अस्पताल भर्ना भएका उनको फोक्सोमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।
रिजाल गत स्थानीय तह निर्वाचनमा चार हजार १९ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा (एमाले)का उम्मेदवार लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।
नेपाली कांग्रेस क्षेत्र नं ७ को क्षेत्रीय सभापतिसमेत रहेका रिजाल गत वर्ष वैशाखमा दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका थिए ।
धादिङको खनियाँबासमा जन्मिएका रिजालले लैनचौरस्थित शान्ति विद्या गृहबाट एसएलएसी उत्तीर्ण गरेका थिए । अहिले भने उनको काठमाडौं-१६, बालाजुमा बसोबास रहेको थियो । रिजालका श्रीमती र २ छोराहरू रहेका छन् ।
