रुस, १३ भादौ । रुसको उत्तर–पश्चिमी सहर पस्कोभको एक विमानस्थलमा भएको ड्रोन आक्रमणमा दुई वटा सैन्य विमानमा क्षति पुगेको रुसी समाचार संस्थाहरूले जनाएका छन्।
उक्त आक्रमण पछि इल्युशिन ७६ ढुवानी विमानहरूमा आगलागी भएको समाचारमा जनाइएको छ।
स्थानीय गभर्नरले यसअघि सेनाले उक्त आक्रमणलाई प्रतिकार गरिरहेको बताएका थिए। उनले ठूलो आगलागी भएको भिडिओ सामाजिक सञ्जालमार्फत् साझा गरेका थिए जसमा विस्फोटको चर्को आवाज पनि सुनिएको थियो।
पस्कोभ युक्रेनबाट ६०० किलोमिटर टाढा छ र यो इस्टोनियाको सीमा नजिकै पर्छ।
युक्रेनले पछिल्लो आक्रमणमा आफ्नो संलग्नताबारे कुनै जानकारी दिएको छैन। उसले रुसभित्र भएका आक्रमणहरूबारे कमै मात्र टिप्पणी गर्ने गरेको छ।
पछिल्ला केही सातायता युक्रेनले रुसभित्रका लक्ष्यहरूमा आक्रमण गर्न विस्फोटक ड्रोनको प्रयोग बढाएको ठानिएको छ।
यसैबीच मस्कोको भिन्नुकोभो विमानस्थलमाथिको हवाई क्षेत्र बन्द गरिएको रुसी समाचार संस्था तासले उल्लेख गरेको छ।
“रक्षा मन्त्रालयले पस्कोभको विमानस्थलमा भएको ड्रोन आक्रमणलाई प्रतिकार गरिरहेको छ,” पीएसकोभका क्षेत्रीय गभर्नर मिखाइल भेडेर्निकोभले टेलिग्राममार्फत् जानकारी दिएका छन्।
भेडेर्निकोभले आफू घटनास्थलमा रहेको जनाउँदै भने,”प्रारम्भिक जानकारीअनुसार कुनै पनि मानवीय क्षति भएको छैन।“
रुसको आपत्कालीन सेवा प्रदायकलाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले चार वटा इल्युशिन ७६ (आईएल–७६) विमानहरूमा क्षति पुगेको जनाएको छ। तीमध्ये दुई विमानहरूमा विस्फोट भई “आगोको लप्कामा परिणत” भएका थिए। रिया समाचार संस्थाका अनुसार आईएल–७६ का अन्य दुई विमानहरूमा भने पछि आगो सल्किएको थियो।
सेन्ट पिटर्सबर्ग सहर नजिकै युक्रेनी ड्रोन आक्रमणमा रुसको लामो दूरीको बमवर्षक विमान ध्वस्त भएको केही दिनपछि उक्त घटना भएको हो। सामाजिक सञ्जालमा साझा गरिएको र बीबीसीले विश्लेषण गरेका तस्बिरहरूमा सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्टसी–२ हवाई अखाडामा रहेको टुपोलेभ टीयू–२२ विमानमा आगो लागेको देखिएको थियो।
यद्यपि युक्रेनले विशेष ड्रोन आक्रमण गरेकोबारे केही पनि बताएको छैन। तर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पहिले नै रुसी भूमिमा आक्रमण ूअपरिहार्य, प्राकृतिक र निःसन्देह निष्पक्ष प्रक्रियाू भएको अभिव्यक्ति दिएका थिए। बीबीसी
