काठमाण्डौं, ९ भदौ । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेन नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँ आगामी सेप्टेम्वरको पहिलो साता काठमाडौं आइपुग्ने बताइएको छ।

नेपाल भ्रमणको क्रममा उहाँले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्ने उहाँको सचिवालयले जनाएको छ।

उहाँले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने बताइएको छ।

होलेनको यो भ्रमणले नेपाल र अमेरिकाको राजनीतिक तथा व्यावसायिक साझेदारी मजबुत हुने विश्वास लिइएको छ। भ्रमणको बेला उहाँले अमेरिकाको नेपालमा हुने सहयोगको बारेमा छलफल गर्नुहुनेछ । खासगरी स्वास्थ्य क्षेत्रमा र विद्युत् तथा यातायात पूर्वाधारमा महत्त्वपूर्ण लगानीको आधार तय गरिनेछ।

सिनेटर होलानको सचिवालयका अनुसार उहाँको यो भ्रमणले दक्षिण एसियाली देश र अमेरिकाबीच मजबुत र अर्थपूर्ण साझेदारी हुनेछ।  उहाँ आफैंले यो भ्रमणले दक्षिण एसियाली मुलुक र अमेरिकाबीचको सम्बन्ध थप मजबुत हुने अपेक्षा रहेको बताउनु भएको छ ।

क्रिस भ्यान होलेन अमेरिकाको डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुनुहुन्छ। रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर