बारा, ७ भदौ : बरामा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार उनीहरूको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेहरूमा भारत राजस्थान बस्ने वर्ष ६७ का बहादुर सिंह, सोही स्थान बस्ने वर्ष ६० की सत्यवती, वर्ष ७० को राजेन्द्र चतुरबेदी, वर्ष ६५ की श्रीकान्त चतुरबेदी, वर्ष ६७ की बैजन्ती देवी, वर्ष ६५ की मिरा देवी, महोत्तरी लोहारपटी–५ बस्ने वर्ष ४१ को विजय लाल रहेका छन् ।
दुर्घटनामा तीन नेपाली तथा १४ भारतीय नागरिक घाइते भएका छन् । उनीहरु पशुपतिनाथको दर्शन गरी फर्किदै थिए ।
–––
