७ भदौ ।  वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिन सवार एक विमान मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा सबै यात्रुहरू मारिएको रुसको उड्डयन अधिकारीहरूलेबताएका छन्।

विमान सञ्चालक निकायले दिएको जानकारी अनुसार त्यसमा वाग्नरका वरिष्ठ कमान्डर डिमित्री उत्किन पनि सवार थिए।तर आपत्कालीन सेवा प्रदायकहरूलाई उद्धृत गर्दै विमानमा रहेका सबै १० जनाको शव फेला परेको जनाइएको छ। तिनको परिचय भने खुलाइएको छैन।

वाग्नर समूहद्वारा सूचना

वाग्नर समूहसँग जोडिएको सामाजिक सञ्जालको एक अकाउन्टमा प्रिगोजिन मारिएको उल्लेख गरिएको छ र त्यसमा विमान खसालिएको भन्दै रुसी हवाई प्रतिरक्षा निकायलाई दोष लगाइएको छ।

जुनमा छोटो समयका निम्ति उनले अगुवाइ गरेको विद्रोहको घटनापश्चात् येभ्गेनी प्रिगोजिन खासै सार्वजनिक रूपमा देखा परेका थिएनन्।

पछिल्लो पटक यही साता जारी एक भिडिओमा उनी अफ्रिकामा रहेको बताइएको थियो

रुसी संस्थापनसँगको झगडा

युक्रेन युद्ध मामिलालाई लिएर प्रिगोजिनको रुसी सैन्य संस्थापनसँग चर्को झगडा भएको देखिन्थ्यो।बारम्बार उनले रुसी जर्नेलहरूलाई अश्लील गाली गर्ने गर्थे र संसारभरि उनको नाम चर्चित भएको थियो।राष्ट्रपति पुटिनसँगको समझदारीअनुसार उक्त विफल विद्रोहपश्चात् उनी बेलारुसमा गएर बस्ने बताइएको थियो।

युवा अवस्थामा जेल परेका उनी पछि सफल रेस्टुराँ व्यवसायी बने। पुटिनसँगको निकटताका कारण उनलाई पुटिनको ‘शेफ’ वा भान्से पनि भनिन्थ्यो।वर्षौँसम्म उनले वाग्नर समूहसँग आफ्नो सम्बन्ध अस्वीकार गर्दै आएका थिए

कस्ता छन् प्रतिक्रिया?

वाग्नरका नाइके मारिएको हुनसक्ने विमान दुर्घटनाका विवरणबारे रुसभित्र खासै आश्चर्य प्रकट नभएको देखिने सम्वाददाता विल भर्ननले जनाएका छन्।

खासमा यस्तो घटना हुन यत्तिका दिन लागेकामा बरु उनी छक्क परेका थिए, भर्नन भन्छन्।

ठ्याक्कै दुई महिना अगाडि प्रिगोजिनले छोटो समयको विद्रोहको अगुवाइ गरे यता नै अब उनको भविष्य कहाँ पुगेर टुङ्गिएला भन्ने चर्चा रुसभित्र निकै चलेको थियो।विमान दुर्घटना भएको एक घण्टा नबित्दै रुसी उड्डयन निकायले विज्ञप्ति जारी गर्दै प्रिगोजिनको नाम यात्रुको सूचीमा रहेको जनाएको थियो।

अरू बेला उक्त निकायले त्यति छिटो जानकारी दिने गर्दैनथ्यो।

यसबीच अमेरिकी राष्ट्रपति जो बाइडनले खासमा के घटना भएको हो भन्ने आफूलाई थाहा नभएको भए पनि रुसमा हुने कुनै पनि घटनामा पुटिन जिम्मेदार हुने उल्लेख गरे।

युक्रेनका राष्ट्रपतिका निकट सहयोगी माइखालो पोदोल्याकले यदि समाचार सत्य हो भने त्यसले क्रेम्लिनविरुद्ध जानेलाई मृत्युदण्ड दिइने सङ्केत दिने बताए।निर्वासनमा रहेकी बेलारुसकी विपक्षी नेता स्भेतलाना तिखानोभ्सकायाले प्रिगोजिन एक हत्यारा भएकाले तिनलाई त्यसैगरी सम्झनु उचित हुने बताइन्।

द इकोनोमिस्टका रक्षा सम्पादक शशाङ्क जोशीले राज्यलाई द्रोह गरेका ठानिएका जस कसैका विरुद्ध कारबाही गर्ने रुसी सरकारको पुरानो अभ्यास रहेको बताए।

ब्रिटेनको बाह्य गुप्तचर निकाय एमआइसीक्सको रुसी इकाइका पूर्व प्रमुख क्रिस्टोफर स्टिलले प्रिगोजिनको अन्त्य यस्तै हुने कुरा लगभग तय थियो भनेका छन्।

बीबीसीसँग बोल्दै उनले उच्च सुरक्षा अधिकारीहरूले शायद पुटिनकै स्वीकृतिमा विमान खसाल्न आदेश दिएका हुनसक्ने बताए।- bbc

प्रतिक्रिया

सम्बन्धित खवर