काठमाण्डौं, ३० चैत । काठमाण्डौंको गोँगबुस्थित नयाँ बसपार्कका सबै टिकट काउण्टर आगामी बुधबार, बैशाख १ गतेदेखि केही समय बन्द हुने भएका छन् ।

यो बसपार्कको टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको बनाउन लागिएको छ । त्यसको निर्माण कार्य गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका त्यहाँका काउण्टर बन्द गर्न लागिको हो ।

यो जानकारी नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले दिनुभएको हो ।

उहाँका अनुसार बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसरुप बनाइनेछ । यो बनाउन लाग्ने समयसम्म टिकट काउण्टरहरू बन्द हुनेछन् । सो समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीहरूलाई आग्रहसमेत गरिएको छ ।

नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन् । उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायात मार्फत् आवतजावत गर्दै आएका छन् ।

काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालिन प्रमुख केशव स्थापित र प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको हो ।

यो बसपार्क १६१ रोपनी क्षेत्रफलमा सञ्चालित छ । बसपार्कमा एक हजार ५०० सार्वजनिक सवारी साधन पार्किङ गर्नसक्ने क्षमता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर