चितवन, २९ चैत । भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेका छन् ।
तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चार जनाको उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नंको म्याजिक भ्यान आज बिहान ९ः३५ बजे दुर्घटनामा परेको हो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा । पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ ।
पूर्वतर्फ आउँदै गरेको मे१ख २६२७ नंको बसलाई सोही दिशातर्फ आउँदै गरेको मे४प ६७४८ नंको मोटरसाइकलले उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना४ख ७२८९ नंको ट्रकले ठक्कर दिँदा उनी घाइते भएका थिए । घाइते मोटरसाइकल चालक चौधरीलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ट्रक चालक इलाम देउमाई नगरपालिका–६ का ४२ वर्षीय निमा शेर्पा र बसचालक मोरङ उर्लाबारी नगरपालिका–४ का ३० वर्षीय खड्गबहादुर भुजेललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ ।
माछा मार्न गएका युवकको छ दिनपछि शव फेला
गोरखा । माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
यही चैत २३ गते सोमबार साँझ साथीहरुसँगै घरबाट माछा मार्न भनेर नदीमा गएका प्रजा नफर्किएपछि उनको खोजी हुँदै आएको थियो । प्रजाको शव त्रिशूली नदी किनारमा फेला परेको प्रनाउ दाहालले बताउनुभयो । उनलाई नदीले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता प्रजाको सोही रातिदेखि खोजी भए पनि फेला पर्न सकेका थिएनन् ।
स्थानीयवासीले शहीद लखन थापा गाउँपालिका–४ स्थित भुते बगरको त्रिशूली नदी किनारमा शव तैरिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रजाको शव परीक्षण गरी अन्येष्टिका लागि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
–––
