इस्लामावाद, १५ साउन । पाकिस्तानमा एक इस्लामिक राजनीतिक दलले आयोजना गरेको र्यालीमा भएको विस्फोटमा परेर कम्तीमा ४४ जनाको मृत्यु भएको छ।
जमीयत उलेमा–ए–इस्लाम–फज्ल (जेयूआई–एफ) को बैठक बसिरहेको उत्तर–पश्चिम बाजौर जिल्लामा भएको विस्फोटमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
प्रहरीले बीबीसीलाई दिएको जानकारीअनुसार उक्त विस्फोट आत्मघाती हमला भएको प्रमाण फेला परेको छ। अधिकारीहरूका अनुसार उद्धार कार्य पूरा भएको छ र सबै घाइतेलाई अस्पताल लगिएको छ।
अधिकारीहरूले १५ जना घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।
आक्रमणको कारण भने खुल्न सकेको छैन। सुरक्षाकर्मीले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन् र विस्फोटको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तूनख्वा प्रान्तको पाकिस्तानी आदिवासी जिल्ला बाजौरको खार सहरमा आइतवार आयोजित जेयूआई–एफ कार्यकर्ताहरूको सम्मेलनमा सयौँ मानिस उपस्थित थिए।
सार्वजनिक भएका तस्बिरहरूमा कार्यक्रम स्थलको मञ्च नजिकै विस्फोट हुँदा सयौँ मानिस पालको तल जम्मा भएको देखिन्छ।
एक प्रत्यक्षदर्शीका अनुसार उक्त पाल ढल्दा त्यहाँबाट भाग्न खोजिरहेका मानिसहरू थिचिएका थिए। स्थानीय टिभीमा प्रसारित सामग्रीहरूमा घाइतेहरूलाई एम्बुलेन्समार्फत् अस्पताल पुर्याइरहेको देख्न सकिन्छ।
गम्भीर घाइते भएकाहरूलाई भने उपचारका लागि सेनाको हेलिकप्टरमार्फत तत्काल नजिकैको पेशावर लगिएको प्रहरीले पुष्टि गरेको छ।
अधिकारीहरूले जिल्लाको सरकारी अस्पतालमा स्वास्थ्य आपत्काल घोषणा गरेका छन्। त्यहाँ मानिसहरूको घुइँचो छ र कतिपय घाइतेहरूले उपचार प्राप्त गर्न नसकिरहेका विवरण आएका छन्।
विस्फोटमा जेयूआई–एफका क्षेत्रीय नेता मौलाना जियाउल्लाहको मृत्यु भएको स्थानीय अधिकारीले बीबीसीलाई बताएका छन्।
जेयूआई एफ एक प्रमुख धार्मिक राजनीतिक दल हो र उक्त पार्टी पाकिस्तानको सत्ताधारी गठबन्धनमा छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आतङ्कवादमा संलग्नहरूले “इस्लाम, कुरान र पाकिस्तानका लागि बोल्नेहरू”लाई निशाना बनाएको आरोप लगाउनुभएको छ । उहाँले आतङ्क मच्चाउनेहरूले “वास्तविक सजाय भोग्नुपर्ने” बताउनुभयो ।
“आतङ्कवादीहरू पाकिस्तानका दुस्मन भएका र तीनलाई पराजित गरेरै छाड्ने” प्रधानमन्त्रीले एक विज्ञप्तिमार्फत् बताउनुभयो । उहाँले घटनाको निन्दा गर्दै हमलाको जाँचका लागि निर्देशन दिनुभएको छ ।
यो राजनीतिक सभा जेयूआई एफका लागि यस वर्षको अन्त्यमा हुन लागेको चुनावअघि आफ्नो पक्षमा समर्थन जुटाउने अवसर थियो।
अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। यद्यपि पाकिस्तानमा इस्लामिक स्टेट समूह (आईएस) को स्थानीय शाखाले यस वर्ष बाजौरमा भएका कैयौँ आक्रमणहरूमा आफ्नो संलग्नता रहेको दाबी गर्दै आएको छ र यसअघि जेयूआई एफलाई निशाना बनाएको बताएको थियो।
गत जुन महिनामा ती लडाकुहरूले इनायत किल्ली गाउँका पार्टीका एक अधिकारीको हत्यामा आफू संलग्न रहेको बताएका थिए।
आईएसले अफगानिस्तान र उत्तर–पश्चिम पाकिस्तानमा सञ्चालित आफ्नो ुखोरासान प्रान्तु शाखा (आईएसकेपी) को नाममा उक्त दाबी जारी गरेको हो। समूहले आफ्नो पाकिस्तान प्रान्त शाखाको नाममा पाकिस्तानमा आक्रमण भएको जनाएको थियो।
पाकिस्तानका गत केही महिनामा चरमपन्थी गतिविधि बढेको छ।
यो वर्षको सुरुमा खैबर पख्तूनख्वाको राजधानी पेशावरमा एक मस्जिदलाई निशाना बनाएर आत्मघाती हमला भएको थियो। त्यसमा कैयौँले ज्यान गुमाएका थिए। अहिले आइतवार भएको घटनामाथि छानबिनको माग तीव्र भएको छ। बीबीसी
