वीरगञ्ज, ४ साउन । वीरगञ्ज महानगरपालिकाले अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ । यस क्रममा महानगरले मुख्य नाला अतिक्रमण गरी सञ्चालन गरेका क्लासिक होटल र कर्पोरेट बैंकका संरचना हटाएको छ ।
वीरगञ्ज शहरको मुख्य नाला अतिक्रमण गरी सञ्चालित क्लासिक होटल र कर्पोरेट बैंकलाई संरचना हटाउन पटकपटक पत्राचार गरे पनि अटेर गरेकाले भत्काएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।
यहाँ मुलुकी देवानी संहिता २०७४ को दफा ३०० को उपदफा १ को (क) बमोजिम परापूर्वकालदेखि रहेको घर जग्गा, ढल वा बाटो सार्वजनिक सम्पत्ति मानिने व्यवस्थाबमोजिम मुख्य नाला माथि बनेको संरचना हटाउन थालिएको हो।
यसैक्रकमा महानगरले अहिले मुख्य नाला सफाइलाई तीव्रता दिएको छ । जिल्ला हुलाक कार्यालयदेखि मुख्य नाला सफाइ गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै सफाइलाई निरन्तरता दिँदै आएको छ ।
चालीस फिट चौडाइको मुख्य नालामाथि बनेको संरचनाका कारण बर्सातको पानी बग्न नसकी महानगर क्षेत्र नै डुबानमा परी जनधनको क्षति पुग्ने देखिएकाले अवैधरुपमा निर्माण गरिएका ती सबै संरचना हटाउन महानगरले अभियान चलाएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो ।
अवैध संरचना खाली गराउन महानगरद्वारा गठित सार्वजनिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक एवं वडा नं ५ का वडाध्यक्ष प्रदीप चौरसियाको नेतृत्वमा टोली परिचालन गरिएको छ ।रासस
