रसुवा, ४ साउन  । रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । यसरी पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका छन् । हालसम्म यो जिल्लामा लम्पी स्किनबाट एक सय ५९ पशुचौपाया मरेका छन् ।

जिल्लाका पाँचवटै गाउँपालिकाका पशुचौपाया लम्पी स्किन रोग फैलिएको छ । सबैभन्दा बढी क्षति गोसाइँकुण्ड गाउँपालिकामा भएको छ ।

उक्त गाउँपालिकाको स्याफ्रुबेँसीमा कार्यरत पशुसेवा प्राविधिक प्रमुख सुरेश वडालका अनुसार छ वडामा लम्पी स्किनबाट हालसम्म २१ चौरी, एउटा याक र ४१ स्थानीय जातका गाईगोरुको मृत्यु भएको छ । “रोग नियन्त्रणको प्रयास भइरहेको छ, स्वास्थ्यको टोली वडा वडामा खटिएको छ”, उहाँले भन्नुभयो । गोसाइँकुण्डभित्र करिब आठ सय पशु लम्पी स्किनबाट सङ्क्रमित छन् ।

जिल्लाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा पनि लम्पी स्किन रोगबाट पशुचौपायामा क्षति भएको छ । आमा छोदिङ्मोबाहेक अन्य गाउँपालिकामा झण्डै एक हजार पाँच सय पशुचौपायाको उपचार भइरहेको सम्बन्धित गाउँपालिकाका प्राविधिकले जानकारी दिएका छन् ।

सङ्क्रमणका कारण अधिकांश गोरु बिरामी परेकाले किसानलाई धान रोपाइँ गर्न समस्या भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नुवाकोटका सूचना अधिकारी पशु चिकित्सक डा बब्लु थारुका अनुसार गत असार ३१ गतेसम्म नुवाकोट र रसुवामा गरी झण्डै १३ हजार गाई, गोरु, भैँसी र चौरी लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन् । रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर