काठमाडौँ, १ साउन । सौरमासअनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन सुरु गरेका पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।
साउनको सोमबार रू सात हजार पाँच सयभन्दा कमको विशेष पूजा गराइएको छैन भने वासुकीनाथको मन्दिरमा रू तीन हजार एक सयभन्दा कमको विशेष पूजा गराइएको छैन”, पराजुलीले भन्नुभयो । दुवै मन्दिरमा एक सय ८१ देखि दुई सय ५१ जनासम्मले विशेष पूजा गर्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ । साउन महिना र सोमबार भगवान शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गरेको जनाइएको छ ।
साउन २ गतेदेखि अधिकमास लाग्ने भएकाले अर्को सोमबार व्रत गर्नु हुने वा नहुनेमा धर्मशास्त्रीबीच मतान्तर देखिएको छ । कति भक्तजनले भने चान्द्रमासअनुसारको पहिलो सोमबार अर्थात् गत सोमबारदेखि नै व्रत सुरु गरेका छन् । सौरमासअनुसार यो वर्षको साउनमा पाँच वटा सोमबार परेको छ ।
देवघाटधाममा स्नान गर्नेको भीड
पवित्र धार्मिक एवं तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ ।
आज साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो । कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हरेक वर्षको साउने सङ्क्रान्तिमा बोलबम मेला लाग्ने गर्छ । भोलिदेखि मलमास सुरु हुने भएका कारण पनि आज पहिलो सोमबार भक्तजनको भीड लागेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताउनुभयो । उहाँले मेलामा सुरक्षालगायतका व्यवस्थापनका काम गरिएको बताउनुभयो ।
साउने सङ्क्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्व रहेको छ । यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट सङ्क्रान्तिफल सुन्ने चलन छ । गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ । अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ । यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ ।
औँसी तिथि र सोमबार एकै दिन परेकाले आज सनातन धर्मावलम्बीले सोमबारे औँसीसमेत मनाउँछन् । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले प्रभावित पार्ने भएको छ । मलमासमा कुनै कामना राखेर गरिने धार्मिककार्यको फल प्राप्ति नहुने धार्मिक विश्वास रहेकाले यसपटक मेला प्रभावित हुने भएको हो ।
चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रूपमा बोलबम मेला लाग्ने गरेको छ । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । यस वर्ष साउनमा पाँच सोमबार परे पनि साउन २ गतेबाट मलमास सुरु हुँदैछ ।
सोमबारे औँशी मनाइयो
सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ ।
सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । श्रावण कृष्ण औँशी आज सोमबार परेको हो । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलेर स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउनुहुन्छ ।
सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने र अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले बताउनुभयो । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक सनातनी परम्परा रहिआएको छ ।
माता, पिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँशी विशेषरुपमा मानिने गरेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । यस अवसरमा विभिन्न तीर्थमा स्नान गर्नेको भीड लागेको जनाइएको छ ।
