काठमाडौँ, २९ असार । राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक, २०८० पारित गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएकामा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो ।

आर्थिक विधेयक राष्ट्रियसभाबाट संशोधन बिना मूल रुपमै पारित भएको छ । राष्ट्रियसभाका सांसदहरुले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गर्नुभए पनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो ।

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने पनि कार्यसूची रहेको छ ।

करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिन्छ :अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आर्थिक विधेयक, २०८० मार्फत गरेका करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने बताउनुभएको हो । “करका विषयमा कहाँ के गर्दा ठीक हुन्छ भन्ने विषयमा हामी खुला छौँ । हामीले गरेका प्रस्ताव दायाँबायाँ हुँदैन भन्ने छैन । मोटामोटी आङ्कलन गरेर समग्रमा यसो गर्दा ठीक हुन्छ भन्ने भएर प्रस्ताव गरिएको हो”, अर्थमन्त्री महतले भन्नुभयो, “हामीले प्रस्ताव गरेका करका दरले कहाँ सकारात्मक र नकारात्मक असर परेको छ समीक्षा गरी सोही अनुसार दर निर्धारण हुन्छन् ।”

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सुर्तीजन्य वस्तुमा लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाउनुपर्ने माग गर्नुभएकोे थियो तर सुर्तीजन्य वस्तुमा अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र स्वास्थ्य जोखिमसमेत जोड्दा उच्चदरमा कर लागिरहेको उहाँको भनाइ थियो । आर्थिक विधेयकमा राखिएको वैदेशिक पर्यटन शुल्क विदेशबाट नेपालमा आउने पर्यटकका लागि नभई विदेश घुम्न जाने नेपालीका लागि लगाइएको कर भएको पनि अर्थमन्त्री महतले स्पष्ट पार्नुभयो ।

पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको पनि उहाँको भनाइ थियो । “अर्थतन्त्र चलायमान हुँदैछ । मूल्यवृद्धि घट्दै गएको छ । ब्याजदर सहज हुँदै गएको छ । यसलेगर्दा राजस्व वृद्धि हुने प्रसस्त आधार दिन्छ”, मन्त्री महतले भन्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर