चितवन, २८ असार । लामो समयको खडेरीका कारण धान रोप्न नपाएका यहाँका किसान नारायणी सिँचाइ आयोजनाबाट पानी नछोड्दा चितवनका चिन्तामा परेका छन् ।
उनीहरू आयोजनाले कहिले पानी छोड्ला र धान रोपौंला भनेर पर्खँदै बसेका छन् । तर लिफ्टबाट पानी कहिले छोडिने हो त्यस दिनको टुंगो छैन । यता भने असार घर्कँदैछ र धान रोप्ने दिन सकिँदै जान लागेका छन् । उता लिफ्टमा मेसीन जडानको काम सकिएको छैन । त्यो काम सक्न अझै केही दिन लाग्नेछ ।
यो नारायणी लिफ्ट सिँचाइ सञ्चालनमा आएसँगै नारायणपुर, कैलाशनगर, पारसनगर, फूलबारी, शिवनगर, गितानगर, पार्वतीपुरलगायतका क्षेत्रमा सिँचाइ हुने गरेको छ । चितवनको यही क्षेत्रमा अहिले पानी नभएर रोपाईं हुन नपाएको हो ।
सो आयोजनाका इन्जिनियर कुलराज चालिसेका अनुसार पुराना पम्प मोटर बिग्रिदा नयाँ मोटर जडानको काम भइरहेको छ । अहिले चारवटा मोटर जडानको काम भइरहेकाले अझै केही दिन पानी छोड्न कठिन छ ।
उहाँले भन्नुभयो, “ सम्भवतः असार मसान्तभित्र मेसिन जडानको काम सकिन्छ । त्यसलगत्तै पानी छाड्ने योजनामा रहेका छौं ।”
रु २६ करोडको ठेक्का सम्झौतामा भारतीय कम्पनीले मेसिन जडानको काम गरिरहेको छ । पुराना मेसीन बिग्रँदै जाँदा लिफ्टबाट क्षमताअनुसार पानी तान्न नसकेकाले नयाँ मेसीन जडानको काम गरिएको हो । चालीस वर्ष पुराना मेसिनका कारण पानी तान्दातान्दै समेत बिग्रने अवस्था आउने गरेकाले यसलाई परिवर्तन गर्न लागिएको हो ।
उहाँले भन्नुभयो, “यो सबै बाम सकेर साउन पहिलो साताभित्र पानी दिने गरी काम गरिहेका छौँ ।”
विसं २०४० मा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको नारायणी लिफ्ट सिँचाइ आयोजनाबाट चार हजार सात सय हेक्टर क्षेत्रफल सिँचाइ हुने गर्दछ ।
नारायणी नदीको लिफ्टिङ गरेर पानी निकाली नहरमा पठाइन्छ । जसबाट २५ हजार घरधुरी लाभान्वित हुने गरेका छन् । पानी समयमा छोड्न नसक्दा ती कृषक मर्कामा परेका छन् ।
नारायणी लिफ्टमा रहेका चारवटा पम्पमध्ये दुई वटाबाट दुई घनमिटर प्रतिसेकेण्ड र दुईवटा पम्पबाट चार घनमिटर प्रतिसेकेण्ड पानी तान्ने क्षमता रहेको छ ।
चितवनकै खगेरी सिँचाइबाट भने असार १५ गतेदेखि नहरमा पानी छोडिएको छ ।
अहिले यस नहरको दुई वटा क्यानलबाट पानीको पठाइएको उहाँले जानकारी दिनुभयो । लामो समय खडेरी पर्दा खोलामा पानी नभएका कारण सो नहरबाट समेत क्षमताअनुसारको पानी पठाउन नसकिएको कार्यालयले जनाएको छ ।
विसं २०२६ मा सञ्चालनमा आएको खगेरी सिँचाइ आयोजनाले तीन हजार नौ सय हेक्टर क्षेत्रफल सिञ्चित गर्दछ । खगेरी खोला, ताल र घोलबाट आएको पानीलाई सङ्कलन गरी नहरमा पठाइने गरिएको छ । जसबाट १५ हजार घरधुरी लाभान्वित हुने गर्दछन् ।रासस
