काठमाडौँ, २४ असार।  प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । शीर्ष नेताहरुको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आज बसेको बैठकमा सङ्घीय संसदको अवरोध खुलाउन सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

गत बुधबारदेखि प्रमुख प्रतिपक्षी नेकपा(एमाले)लगायतका दलले सङ्घीय संसदका दुवै सदनको बैठक अवरोध गर्दै आएका छन् । सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले प्रमुख दलका शीर्ष नेतासँग सम्वाद गर्न आज बिहान सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले आग्रह गर्नुभएको थियो ।

सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्थ्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आग्रहमा आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । यसअघि प्रधानमन्त्रीकै आग्रहमा आइतबार दिउँसो एक बजे बोलाइएको बैठक दिउँसो तीन बजे बस्ने गरी सारिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर