काठमाडौँ, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसमा सदस्य रहनुभएका चार सदस्यको पद रिक्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहनुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न्न भई केन्द्रीय सदस्य स्वीकार गरी दल त्याग गरेको भनी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयमा निवेदन दिएकाले पद रिक्त रहेको जानकारी गराउनुभयो । उहाँहरु राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम पद रिक्त रहेको भएको घोषणा गरिएको हो ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता देव गुरुङले संघीय संसद सचिवालयमा पार्टीको कार्यकारी समितिको बैठकको निर्णय समावेश गरी आफ्नो दलका ४ प्रत्यक्ष निर्वाचित सांसदहरु टोपबहादुर रायमाझी, प्रभू शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीले अन्य दलको गतिविधिमा संलग्न भएको सूचना दिएका थिए ।२०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका उनीहरु पछिल्लो पटक नेकपा एमालेमा प्रवेश गरेका थिए ।
