बेनी, १९ असार । बेनी नगरपालिका–५ भिरमुनिको सिरानटोलमा खानेपानी आयोजना बनेपछि स्थानीय हर्षित बनेका छन् । अधिकांश दलित समुदायको बसोबास रहेको यस गाउँमा गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ खानेपानी अभियानअन्तर्गत घर–घरमा खानेपानीको धारा निर्माण भएपछि उनीहरू हर्षित भएका हुन् ।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले सञ्चालन गरेको पुरुन्ते खानेपानी आयोजना आयोजनाअन्तर्गत यस गाउँका ६० घरधुरीमा खानेपानीको धारा निर्माण गरिएको हो ।

यस वर्ष विनियोजन भएको रु १५ लाख बजेटबाट ६० घरमा धारासहित पाइप लाइन निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर दमैले बताउनुभयो । उहाँका अनुसार सिरानटोल, बूढाघर, बाटामुनि, गैराघर टोलसम्म यस आयोजनाबाट खानेपानी वितरण हुनेछ ।

यस आयोजनाबाट ४५ घर दलित समुदाय र १४ घर गैरदलित समुदाय लाभान्वित बनेका छन् ।

अघिल्लो वर्ष विनियोजन भएको रु पाँच लाख बजेटबाट इन्टेक, ट्याङ्की र मुख्य पाइप लाइन निर्माण भएको र यस वर्ष धारा निर्माण सकिएको अध्यक्ष दमैले जानकारी दिनुभयो । सातवटा घरमा खानेपानी सञ्चालन भइसकेको र अन्य घरमा धारा र मिटर जडानको काम बाँकी रहेको स्थानीय जगत् परियारले जानकारी दिनुभयो ।

विगतमा एउटै धारामा धेरै घरपरिवारले आलोपालोमा खानेपानी र घरायसी प्रयोजनका लागि पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेकामा घर–घरमा खानेपानीको धारा निर्माण भएपछि स्थानीय हर्षित बनेको उहाँको भनाइ छ ।

“खानेपानीका लागि घन्टौँसम्म पालो पर्खनुपर्ने बाध्यता थियो, साझा धाराबाट घर–घरमा पाइपमा पानी खोसाखोस गरेर लैजानुपर्ने बाध्यता अब हट्ने भएको छ, घर–घरमा खानेपानी पुगेपछि पानीको जोहो गर्न लाग्ने समय पनि बचत हुनेछ”, उहाँले भन्नुभयो ।

यस आयोजनामा ध्वाखोलाको मूलमा रहेको पानीलाई पुरानो ट्याङ्कीमा जम्मा गरेर वितरण लाइनमार्फत घर–घरमा खानेपानी पुर्याउने व्यवस्था मिलाइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर