गलकोट, १७ असार । ठेकेदारले पटक–पटक अलपत्र पारेपछि मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङको बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत बिुहँबाट घोडाबाँधेसम्मको १३ किमी सडक पाँचपटकसम्म म्याद थप गर्दा पनि काम गर्न नसक्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयल पर्वतले जनाएको छ ।
पाँचपटक म्याद थप भइसक्दासमेत असार मसान्तसम्म सडक कालोपत्र गर्नुको सट्टा सडक अलपत्र छाडेर हिँडेको निर्माण व्यवसायीसँगको सम्झौता रद्द गरिएको हो ।
लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये बागलुङ जिल्ला सदरमुकाम खण्डतर्फको जम्मा २५ किलोमिटर सडकखण्डमात्रै कालोपत्र गर्न बाँकी छ ।
मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत बागलुङको बिहुँ–घोडाबाँधे खण्डको १२ किमी सडक कालोपत्रे गर्ने जिम्मा सूर्य कन्ट्रक्सनले पाएको थियो ।योसँगको सम्झौता यही साता रद्द गरिएको आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले जानकारी दिनुभयो ।
उहाले भन्नुभयो : “विसं २०७२ मा दुई वर्षलाई ठेक्का सम्झौता भएको थियो, सात वर्ष पूरा भइसक्दासमेत काम भएन, जनताले निरन्तर आन्दोलन गरिरहनुभएको छ, पाँचपटक म्याद थप गर्दा पनि काम नगरेपछि बाध्य भएर ठेक्का रद्द गरिएको छ”, उहाँले भन्नुभयो, “अब बागलुङबाट बिहुँसम्मको १३ किमी सडकको समेत ठेक्का सम्झौता रद्द गर्ने प्रक्रियामा पुगेका छौँ, निर्माण व्यवसायीको चरम लापरवाहीका कारण बागलुङको दुर्गम गाउँमा राजमार्गको सडक कालोपत्र भए पनि जिल्ला सदरमुकाम खण्डको सडक कालोपत्र नभएर जीर्ण बनेको छ ।”
बिहुँका नागरिकले चरणबद्धरूपमा निर्माण व्यवसायीका विरुद्धमा आन्दोलन गरेपछि आयोजनालाई र सरोकारवाला निकायलाई निर्माण व्यवसायीसँगको ठेक्का रद्द गर्न थप दबाब भएको थियो ।रासस
