काठमाडौँ, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्धको अनुसन्धान कार्यले थप तीव्रता पाउने बताउनुभएको छ । पोखराका सञ्चारकर्मीसँग अन्तरक्र्रिया गर्दै उहाँले भ्रष्टाचार तथा अनियमितताविरुद्ध सरकार दृढरुपमा खडा भएको र कुनै पनि सम्झौता नहुने उल्लेख गर्नुभयो ।
“पछिल्ला केही दिनमा बजेट पास होला कि नहोला भन्ने तरङ्ग थियो । विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यसपटक हामीले भिन्न ढङ्गले नै काम सुरू गरेका छौँ । यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ । जनताले भोगेका समस्या सम्बोधन गर्न पूरै कोसिस गरिएको छ । विदेशमा रहेका लाखौँ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ ।”
भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणलगायतमा सरकार दृढताका साथ अगाडि बढेको र यसलाई थप तीव्र पारिने बताउनुभयो ।
“अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो । तर बिस्तारै लयमा फर्किएको छ । यसपटकको भारत भ्रमण ऐतिहासक भएको छ । राष्ट्रको हितमा भारतसँग धेरै महत्वपूर्ण समझदारी भएका छन् । भारतीय प्रधानमन्त्रीले सीमा समस्या हल गरिनेबारे बोल्नु भएको छ । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “पारवाहन सन्धि पुनरावलोकन पनि महत्वपूर्ण निर्णय हो । विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा होइन । १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य होइन । यसले विद्युत् व्यापार बढ्छ, लगानीको ढोका खुल्छ । यो आउने पिँढीले सम्झिरहने काम हो ।”
प्रधानमन्त्री दाहालले राष्ट्र र जनताप्रति इमान्दार भएर काम गरिरहेको बताउनुभयो । उहाँले छिट्टै आफ्नो चीन भ्रमण हुने र त्यसको तयारी भइरहेको बताउनुभयो । “त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो गर्ने कोसिस हुन्छ”, उहाँले भन्नुभयो । वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने र कसैले यसलाई कमजोर बनाउन नसक्ने स्पष्ट पार्दै उहाँले यसमा दलहरु समझदारीका साथ अगाडि बढने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले भारतसँग थप हवाईमार्गका बारेमा छलफल गरिएको र त्यो छिट्टै निष्कर्षमा पुग्ने बताउनुभयो । चीन भ्रमणमा जाँदा पनि यो विषयमा छलफल हुने उहाँको भनाइ छ ।
