काठमाण्डौ, १६ असार । दुई दिनदेखिको अविरल वर्षाका कारण बाढी र पहिरो आएर मुलुकका विभिन्न ठाउँका सडकमार्ग अबरुद्ध भएका छन् भने गन्तव्यमा पुग्न नसक्दा हजारौं यात्रुले अपपत्र अवस्थामा दुखसास्ती भोग्नुपरेको छ ।
बिहीबार पहिरोले बन्द भएको मुगलिङ-नारायणघाट सडक शुक्रबार साँझ पहिरो पन्छारएर खोलिए पनि आज शनिबार फेरि बन्द भएको छ । त्यहाँ पहिरो रोकिएको छैन ।
त्यसैगरी आजैबाट मध्यपहाडी लोकमार्गको बुर्तिबाङ–रुकुम खण्ड अवरुद्ध भएको छ । राससका अनुसार सो लोकमार्गको त्यस खण्डअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–२ जुग्जाखोला नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा बुर्तिबाङदेखि रुकुम र रुकुम, निसीखोला लगायतका ठाउँबाट काठमाडौँ, बुटवल, पोखरा लगायतका ठाउँमा जाने यातायातका साधन ठप्प भएका छन् । सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।
सडक खुलाउने प्रयास भइरहेको छ तर पानी परिरहेकोले समस्या छ । ।
नवलपरासीबाट प्रप्त समाचार अनसुार (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात पहिराका कारण अवरुद्ध भएको छ । जिल्लाको दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्गे्र र पोखरी खण्डमा खसेको पहिराको कारण यातायात अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलका अनुसार पानी परिरहेकाले यस खण्डमा तत्काल पहिरो पन्छाएर बाटो खुलाउन समस्या छ ।
नवलपुरको पहाडी क्षेत्रलाई जोड्ने मुख्य खण्ड पहिराले अवरुद्ध भएपछि दललदलेबाट पहाडी क्षेत्रमा छुट्ने र पहाडी क्षेत्रबाट दलदलेतर्फ छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् । पहिराले बाटो अवरुद्ध हुँदा मुख्य राजमार्ग र सदरमुकामसँग पहाडी क्षेत्रको यातायात सम्पर्क टुटेको छ ।
राससको समाचारमा उल्लेख छ : यसैगरी कालिगण्डकी करिडोरको नवलपुरखण्डसमेत पहिराको कारण अवरुद्ध भएको छ । कालिगण्डकी करिडोरअन्तर्गत बुलिङटार १ र ६ मा पहिरो खसेकाले करिडोर पूर्णरुपमा बन्द छ ।अहिलेसम्म जिल्लाको मुख्य राजमार्ग पूर्व पश्चिम राजमार्गमा भने यातायात सञ्चालनमा कुनै समस्या छैन ।
उता गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएको छ । सन्धिखर्क–६ नरपानीको बहखोरामा गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार गोरुसिङ्गे सन्धिखर्क सडकको सन्धिखर्क–६ नरपानीकै दहखोला र शीतगङ्गा १३ कोन्द्रेखोलामा खसेको पहिरो हटाइ सकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको छ ।
सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रु बीचमै रोकिएका छन् ।
