दमौली, १६ असार । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीमाई मन्दिरको छानो ‘प्यागोडा’ शैलीमा निर्माण थालिएको छ । प्रसिद्ध छिम्केश्वरी मन्दिर आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छ ।

छिम्केश्वरी समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा  छ ।

विगत दुई वर्षदेखि छिम्केश्वरीमाई मन्दिरको पुनःनिर्माण भइरहेको छ । निर्माणको अन्तिम चरणमा पुगेको मन्दिरमा पित्तलको छानो छाउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पित्तलले छाएर मन्दिरलाई आकर्षण बनाउन लागिएको हो ।” भक्तपुरबाट कालीगढ मगाएर छानो छाउने काम भइरहेको छ । चुमानका अनुसार असार मसान्तभित्रै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

छिम्केश्वरी मन्दिर पुनःनिर्माणका लागि करिब रु ८० लाख खर्च भइसकेको छ ।

गाउँपालिकाले छिम्केश्वरीमाई मन्दिर नजिकै रहेको बूढीमाईको मन्दिर पनि पुनःनिर्माण गर्ने लक्ष्य राखेको छ ।

यस भेगका सात देवीमध्ये जेठी बुढीमाईको मन्दिर काठैकाठले पुनःनिर्माण गर्ने बताइएको छ ।

गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रे लगायतका हिमालको मनोरम दृश्य हेर्न सकिन्छ ।

महाभारत शृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ । धार्मिक पर्यटन केन्द्र बनाउनका लागि यस ठाउँलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको अध्यक्षको चुमानको भनाइ छ ।

चुमानले भन्नुभयो, “छिम्केश्वरीलाई प्रमुख पर्यटकीय गन्तव्यस्थल बनाउन योजनाबद्धरुपमा लागेका छौँ । आगामी आर्थिक वर्षको बजेटमा पनि छिम्केश्वरीको विकासका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ ।”

छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । छिम्केश्वरीसम्म जाने सडक कालोपत्रको तयारी भइरहेको छ ।

पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीदेखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रको तयारी गरिएको हो । हालसम्म साइट कटिङ, नाला निर्माण, बेसमेन्टको काम र ग्राभेल काम सकिएको छ । यसअघि एक हजार दुई मिटर खण्ड कालोपत्र भइसकेको छ । कूल १६ किमी सडकको बाँकी खण्ड कालोपत्र गर्न लागिएको हो ।

छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्र भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा वृद्धि हुने विश्वास गरिएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर