मनाङ, ११ असार । हिमाली जिल्ला मनाङको नासो गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित जाँच गरी सुत्केरी भएमा रु १० हजार प्रोत्साहन रकम दिने निर्णय गरेको छ ।
स्वास्थ्य संस्थामा पुगेर नियमित स्वास्थ्य परीक्षण नगराइ सुत्केरी हुने प्रचलनलाई निरुत्साहित गर्न गाउँपालिकाले यो नीति लिएको हो ।
पालिका अध्यक्ष धनबहादुर गुरुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा सो विषय सार्वजनिक गर्नुभएको हो । “स्वास्थ्य संस्थामा जाँच गराई शिशु जन्माउने सुत्केरीलाई रु १० हजार उपलब्ध गराइनेछ”, उहाँले भन्नुभयो ।
क्यान्सर, मिर्गौलामा समस्या र अन्य जटिल रोगको उपचार गरेर आराम गरिरहेका व्यक्तिलाई रु ३० हजार लिएर ‘स्वास्थ्य भेट’ कार्यक्रम सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको छ । आगामी आर्थिक वर्षमा उत्पादन र विकास निर्माणका क्षेत्रमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने नीति पालिकाको छ ।रासस
