गलकोट, ११ असार । बागलुङका सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । बागलुङका चार नगरपालिका र छ गाउँपालिकाले रू पाँच अर्ब ९६ करोड ७७ लाख १७ हजार छ सयको बजेट ल्याएका हुन् ।
आर्थिक वर्ष २०८०/८१ को लागि सङ्घीय सरकार, प्रदेश सरकारको अनुदान र आन्तरिक आयका आधारमा बजेट पेस गरिएको छ ।
यसमा बागलुङ नगरपालिकाले रू एक अर्ब ३३ करोडको बजेट ल्याएको छ । नगरपालिकाको १३औँ नगरसभा समक्ष नगर उपप्रमुख राजु खड्काले नगरपालिकाले सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, सर्शत र समपुरक शीर्षकमा प्राप्त अनुदान, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र नगरपालिकाको आन्तरिक आयको आधारमा बजेट प्रस्तुत गर्नुभएको थियो ।
गलकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रू ६८ करोड १२ लाख १८ हजार बजेट ल्याएको छ । नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले वित्तीय समानीकरण अनुदानबाट रू ११ करोड ३८ लाख, राजस्व बाँडफाँटबाट रू १० करोड ९५ लाख, सशर्त अनुदानबाट रू ३६ करोड १० लाख, विशेष अनुदानबाट रु एक करोड ५० लाखसहितको बजेट पेस गर्नुभयो ।
त्यस्तै जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रू ७२ करोड चार लाख ६८ हजार सात सयको बजेट सार्वजनिक गरेको छ भने ढोरपाटन नगरपालिकाले रू ५५ करोड २४ लाखको बजेट प्रस्ताव गरेको छ ।
त्यस्तै बागलुङकै तमानखोला गाउँपालिकाले रू ३० करोड ३८ लाख ४९ हजार बजेट ल्याएको छ भने काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रू ५६ करोड १२ लाख ३४ हजारको बजेट ल्याएको छ ।
बडिगाड गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रू ६७ करोड १९ लाख ६४ हजार बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । त्यसरी नै ताराखोला गाउँपालिकाले आगमी आर्थिक वर्षका लागि रू ३६ करोड ६७ लाख ९३ हजार बजेट पेस गरेको छ भने बरेङ गाउँपालिकाले रू ३१ करोड २९ लाख ८१ हजारको बजेट ल्याएको छ । रासस
