मनहरी, ६ असार । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । यो उद्योग आव २०७५/७६ देखि निरन्तर घाटामा छ ।
संस्थाका अनुसार यो उद्योगको हालसम्मको कुल घाटा रु ९० करोड छ ।
आव २०७४/७५ मा उद्योगले एक लाख नौ हजार सात सय ९६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो । यसमा एक लाख छ हजार तीन सय ३२ मेट्रिक टन सिमेन्ट बिक्री गर्न सफल भएको थियो ।
साथै रु एक अर्ब ६८ करोड ३८ लाख ६४ हजार नौ सय १७ आम्दानी गरेकाे र रु एक अर्ब ५२ करोड २६ लाख एक हजार चार सय १८ खर्च भएकाे थियाे । रु १६ करोड ३६ लाख तीन हजार चार सय ९९ नाफा कमाएको थियो ।
यसपछि उद्योग निरन्तर घाटामा गएको तथ्याङ्क छ ।
आव २०७५/७६ मा उद्योगले एक लाख नौ सय ६९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा एक लाख चार हजार पाँच सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा रु एक अर्ब ६४ करोड २० लाख १८ हजार तीन सय १८ आम्दानी गरेकामा रु एक अर्ब ६५ करोड २५ लाख ५९ हजार चार सय ५४ खर्च भई रु एक करोड पाँच लाख ४१ हजार एक सय ३६ नोक्सानी व्यहोरेको थियो ।
त्यसपछि आव २०७६/७७ मा रु २३ करोड ८२ लाख २४ हजार , आव २०७७/७८ मा रु १७ करोड चार लाख ४० हजार छ सय ६९ र आव २०७८/७९ मा २३ करोड रु ५५ लाख १० हजार नौ सय ६९ घाटा भएको थियो ।
यस्तै, आव २०७९/८० मा रु एक अर्ब दुई करोड ३९ लाख ८४ हजार आठ सय ४० आम्दानी गरेको उद्योगले रु एक अर्ब १३ करोड ५५ लाख ४८ हजार दुई सय ३५ खर्च गरेको थियो ।
यो आवमा उद्योगलाई रु ११ करोड १५ लाख ६३ हजार तीन सय ९५ घाटा भएको महाप्रबन्धक वसन्तराज पाण्डेले बताउनुभयो ।
उद्योगमा कच्चापदार्थको अभाव र पुरानो ऋण तिर्न नसक्दा बारम्बार बन्द हुँदै आएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्यमा समस्या आइरहेको छ ।
उहाँका अनुसार उद्योगमा ३८ वर्ष पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजार लगायतका समस्या छन् । उद्योगले एक महिनापछि यही सोमबारदेखि पुनः क्लिङ्कर उत्पादन सुरु गरेको छ ।
उद्योगमा पहिलेदेखिकै ३० करोडभन्दा बढी कोइला खरिद तथा कर्मचारी निवृत्तिभरण बापतको ऋण छ ।
उद्योगमा हाल दुई सयजना कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा सय कामदार रहेका छन् । उद्योगका भैँसे, ओख्रे, मजुवा र जोगिमारामा खानी रहेका छन् ।
कम्पनी ऐनअन्तर्गत २०३३ असोज १३ मा स्थापित भएको यस उद्योगले २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । उद्योगको वार्षिक उत्पादन क्षमता दुई लाख २५ हजार मेट्रिक टन रहेको छ ।
