दमौली, ५ असार ।  तनहुँको सरकारी निकायले अनुदानको नीति अगाडि सारेका छन् । कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित जिल्लाका सरकारी निकायले अनुदानको नीतिलाई प्राथमिकतासाथ अगाडि सारेका हुन् ।

यस नीतिअन्तर्गत कृषि ज्ञान केन्द्र तनहुँ, आँबुखैरेनी, म्याग्दे र बन्दीपुर गाउँपालिकालगायतले कृषकलाई विभिन्न उपकरण अनुदानमा वितरण गर्दै आएका छन् ।

कृषि पेसामा लागेका कृषकलाई आयआर्जनमा सहयोग पुग्ने खालका सामग्री वितरणलाई प्राथमिकतामा राखिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाहमुखी पेसा गरिरहेकालाई सहयोग गरेर व्यावसायिक बनाउने लक्ष्यसहित केन्द्रले मौरीघार, हाते ट्र्याक्टर, बङ्गुरका पाठापाठी, व्याड बोका वितरण गर्दै आएको छ ।”

केन्द्रले विपन्न वस्तीमा मुख्यमन्त्री कार्यक्रमअन्तर्गत ऋषिङ गाउँपालिका–४ भिरकोटका कृषकलाई कृषि सामग्री सहयोग गरेको छ । विपन्न समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित १५ मौरीघार, ३० बङ्गुरको पाठापाठी, दुई व्याड बोका, एक हातेट्र्याक्टर, दुई पक्की टनेल, एक कुटानी पिसानी, १५ सिँचाइ ट्याङ्की, बाख्रा र कुखुराको खोर सहयोग गरिएको हो ।

तिवारीले भन्नुभयो, “विपन्न कृषक छनोट गरी कार्यक्रममार्फत उनीहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य हो ।”

यो ठाउँका ६० घरधुरीलाई लक्षित गरी कार्यक्रम सुरुआत भएको छ । जिल्लाका दुई पालिकाका विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिएको छ ।

यसनिम्ति गण्डकी प्रदेश सरकारबाट दुई पालिकाका लागि रु २०–२० लाख बजेट निकासा भएको छ । त्यसमा गण्डकी प्रदेश सरकारको ९० प्रतिशत अनुदान र कृषकको १० प्रतिशत लागत सहभागिता रहनेछ ।रासस

 

 

प्रतिक्रिया

सम्बन्धित खवर