ताप्लेजुङ, ४ असार । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता हुनुभएका केशरबहादुर राईको शव फेला परेको छ । सोही पहिरोमा परेर केशरका छोरा सुरेश राईको पनि निधन भएको थियो।

स्थानीय कला कडरियाका अनुसार साथै सोही पहिरोमा परी घाइते हुनुभएका राजकुमार राईको अवस्था गम्भीर छ ।

उहाँलाई हेलिकोप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ । पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै सार्ने तयारीका क्रममा अचानक खसेको पहिरोले तीन जना पुरिनुभएको थियो ।

जसमध्ये सुरेश र राजकुमारको तत्काल उद्धार गरिएको थियो भने केशरबहादुर बेपत्ता हुनुभएको थियो । मेहेलेकाको अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा छन् ।

मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ । मेहेलेमा पहिरोले छ घर बगाएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर