दमौली, ४ असार । तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ ।
वैशाखदेखि बिग्रिएर बसेको ‘डायलासिस’ उपकरण गत जेठ १५ गते मर्मत गरी सञ्चालनमा ल्याइएको थियो ।
राष्ट्रिय मिर्गौला उपचार केन्द्रका प्राविधिक आएर उपकरण मर्मत गरिदिए पनि फेरि समस्या आएको दमौली अस्पताल मिर्गौला केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बल्ल बल्ल उपकरण बनेको थियो, फेरि समस्या आएर बिग्रियो । अहिले चार वटा मात्रै उपकरण सञ्चालनमा छन् ।”
पाँच मर्मतसहित यसअघि नौ वटा उपकरण सञ्चालनमा रहेकामा अब चार वटा उपकरणबाट मात्रै सेवा प्रवाह भइरहेको केन्द्र प्रमुख पण्डितले जानकारी दिनुभयो ।
उपकरण थोरै हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या हुने गरेको छ । स्वास्थ्य मन्त्रालयले दमौली अस्पताललाई दुई नयाँ उपकरण पठाएको छ ।
प्रदेश सरकारमार्फत दमौली अस्पतालमा दुई उपकरण आइपुगे पनि जडान हुन बाँकी रहेको छ । चार उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने अवस्था रहेको छ ।
केन्द्रले दैनिक बिहान ७ बजेदेखि राति ११ बजेसम्म डायलासिस सेवा सञ्चालन गरेको छ । केन्द्रमा हाल डायलासिस सेवा लिने कूल सङ्ख्या ५० जना रहेका छन् तर अझै ३० मिर्गौला पीडित डायलासिसका लागि पालो पर्खिदै छन् ।
तनहुँका विभिन्न ठाउँका मिर्गौला पीडितले मिर्गौला उपचार केन्द्रमा डायलासिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन् । नियमित रुपमा डायलासिस गराउनुपर्ने उनीहरुले हाल पोखरामा डायलासिस गरिरहेका छन् । रासस
