काठमाण्डौं, ३ असार । आइसिसी एक दिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल जिम्बावेसित पराजित भएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४४.१ ओभरमा सजिलै पूरा गर्दै नेपाललाई हरायो ।
पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा पूरा ५० ओभर खेल्दै २९० रन बनाएको थियो।
जिम्बाव्वेले जम्मा २ विकेटको क्षतिमा आफ्नो लक्ष्ष पूरा गरेको हो । उसले नेपाललाई ८ विकेटले जितेको छ ।
यो खेलमा जिम्काबावेकोलागि १६४ रनको साझेदारी गरेका क्रेग इर्भिन र सेन विलियम्स दुवैले नट आउट शतकीय पारी खेले ।
कप्तान इर्भिनले १२८ बल खेल्दै १५ चौका र १ छक्का मद्दतमा नटआउट १२१ रन बनाए । यस्तै विलियम्सले ७० बल खेल्दै १३ चौका र २ छक्का मद्दतमा १०२ रन बनाए ।
वेस्ली मधेभरे ३२ तथा जोयलर्ड गम्बी २५ रनमा आउट भएका थिए ।
बलिङतर्फ नेपालका लागि सोमपाल कामी र गुल्शन झाले १-१ विकेट लिए । ब्याटिङमा राम्रै गरे पनि नेपाली बलरहरु आज पटक्कै जम्न सकेनन् । जिम्बावेका ब्याट्सम्यानसमक्ष उनीहरू निरीह देखिएका थिए ।
