काठमाण्डौं ३ असार । आजबाट सुरू भएको आइसिसी एक दिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ ।

खेल जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा भैरहेको छ ।

पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा पूरा ५० ओभर खेल्दै २९० रन बनाएको हो ।

टस जितेको जिम्बावेले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि अर्धशतक प्रहार गर्दै ३१.५ ‌ओभरमा पहिलो विकेटका लागि १७१ रनको कीर्तिमानी साझेदारी गर्दै उत्कृष्ट प्रदर्शन गरे ।

कुशल भुर्तेलले सानदार प्रदर्शन गर्दै ९९ रन बनाए । तर १ रनले गर्दा उनी ऐतिहासिक शतक प्रहार गर्नमा चुके ।

उनी ९९ रनमा ३१.५ ओभरमा मासाकाज्दाको बलमा बोल्ड भए।  उनले ९५ बलमा ९९ रन जोड्ने क्रममा १३ चौका र २ छक्का प्रहार गरे।

आसिफ शेखले ६६ रन जोडे। उनले १०० बलमा ७ चौका हिर्काए।  उनलाई पनि माजाकाड्जाले नै आउट गरे ।

त्यसपछि मैदानमा उत्रेका कप्तान रोहित पौडेल २९ बलमा ५ चौकाको मद्दतमा ३१ रन जोडेर आउट भए। यस्तै कुशल मल्लले ४२ बलमा २ चौका र ३ छक्काको मद्दतमा ४१ रन बनाए ।

आरिफ शेख १० रन बनाए भने गुल्सन झाले १३ रन बनाए। भीम सार्की डकआउट भए। दीपेन्द्रसिंह ऐरी अन्तिम दुई बल खेल्न बाँकी छदा ६ रनमै आउट भए।

एकदिवसीय वरीयतामा जिम्बावे ११औं स्थानमा छ भने नेपाल १४औं स्थानमा छ।

१० टिमले भाग लिने यो प्रतियोगितामा नेपाल समूह ‘ए’ मा  छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्।

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

आज आयोजक जिम्बावेसँग खेलेपछि नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ ।

पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्।

त्यसमा शीर्ष दुईमा दरिने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर