काठमाडौँ, २ असार । काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन हुन थालेसँगै त्यो बस पार्कभित्र ५६ टिकट काउण्टर थप भएका छन् ।
काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालन गराउन थालेको छ ।
यसअघि काठमाडौँभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउण्टर थपिएको हो ।
काठमाडौँ महानगरपालिकाले शुक्रबार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालन भएका टिकट काउण्टरसमेत हटाएको थियो ।
काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलङ्की, चाबहिल क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका टिकट काउण्टर हटाइएको जानकारी दिनुभयो ।
महानगरपालिकाको निर्णय कार्यान्वयनसँगै माईक्रोबस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् । माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ तथा काउण्टरको व्यवस्था गरिएको छ ।
यसअघि काठमाडौँबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट विपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र वल्खुबाट हेटौँडा चल्ने टाटासुमोसञ्चालन हुँदै आएका थिए । काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याएको थियो ।
एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८०० भन्दा बढी ठूला सार्वजनिक सवारी साधन पार्किङ गर्नमिल्ने क्षमता रहेको छ ।रासस
