काठमाडौँ २ असार । नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले हिजो एक विज्ञप्ति जारी गर्दै नेपालमा मङ्कीपक्स भाइरस (एमपक्स) सङ्क्रमण देखिएको जानकारी दिनुभएको हो ।
उहाँका अनुसार एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौँको अस्पतालमा त्यसको परीक्षण भइरहेको थियो ।
उहाँले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, “ती महिलाको शरीरबाट नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा एमपक्स सङ्क्रमण पुष्टि भएको हो ।”
मङकीपक्सको बारेमा थप खोज अनुसन्धान तथा उपचार जारी रहेको जनाइएको छ ।
मङ्कीपक्स विश्वभरी हाल १११ देशमा फैलिसकेको छ ।
यो मङ्कीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो ।यसका लक्षणहरू बिफरसँग मिल्दाजुल्दा हुन्छन् तर यो बिफरमन्दा कम घातक हुने स्वास्थ्यविज्ञहरूको भनाई छ ।
यो एमपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्ने गर्दछ ।
सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मङ्कीपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखापरिहेको छ । रासस
