महेन्द्रनगर, २५ जेठ । कञ्चनपुरमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि आजदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदैछ ।

खोप अभियानअन्तर्गत कञ्चनपुरमा एक लाख १४ हजार छ सय २३ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिनुभयो ।

बुधबार कञ्चनपुरको महेन्द्रनगरमा दादुरा रुबेला खोप अभियानबारे सरोकारवाला निकायसित छलफलसमेत गरिएको थियो ।

आजदेखि सुरु हुने खोप अभियान स्थानीय स्वास्थ्य संस्था, विद्यालयलगायतका क्षेत्रमा जेठ मसान्तसम्म चल्नेछ  । खोप सेवा जिल्लाका पाँच सय ७२ खोप केन्द्रबाट संचालन गरिने छ । यसको लागि तीन सय ५३ स्वास्थ्यकर्मी खोप सेवाका लागि खटिएका छन् ।

“खोप पूर्णरुपमा सुरक्षित र प्रभावकारी रहेकाले आफ्ना सम्पूर्ण बालबालिकालाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाइदिन आग्रह गर्छु”, पन्तले भन्नुभयो, “यो रोग सबै उमेर समूहलाई लाग्न सक्ने भए पनि बालबालिकालाई बढी असर गर्छ । त्यसैले लक्षित उमेर समूहलाई खोप लगाउँदै छौँ ।”

सन् २०२६ सम्ममा दादुरा रुबेलालाई निवारण गर्ने लक्ष्य अन्तर्गत यो  खोप अभियान सञ्चालन गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर