युगवाणी टिप्पणीकार
प्रतिनिधिसभा विघटन भएर व्यूँतिएको ४० दिन भन्दा बढी भयो । २ वर्ष ९ महिना २० दिन अगाडि दुई ठूला कम्युनिष्ट पार्टीको एकता भएको थियो । सर्वोच्च अदालतले त्यो एकता प्रकृया असंवैधानिक छ भन्यो । यसरी दुई कम्युनिष्ट पुनः वेग्ला वेग्लै अस्तित्वमा ल्याइदियो । यी ठूला कम्युनिष्ट पार्टी अस्तित्वमा आएको पनि आज ठीक एक महिना पुरा हुँदैछ ।

ओली व्यूँतिएको प्रतिनिधिसभावाट अझै वहुमत प्राप्त प्रममा कायम नै हुनुहुन्छ। उहाको सिंहाशन हल्लाउने गरी कसैसंँग राजनीतिक “ व्यूहरचना” नभएको देखियो । देशको राजनीति विचित्र र अनुमान नै गर्ने नसक्ने गरी गिजोलिएको छ । यही गिजोलिएको राजनीति भित्र भावी दिन कसरी अगाडि बढला भनी केही अनुमान गरौं ।

राजनीतिको मैदानमा निर्णायक टिम चार छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले सवैभन्दा ठूलो दल छ संसदमा । नेपाली कांँग्रेस दोस्रो ठूलो दल अनि माओवादी केन्द्र र जनता समाजवादी पार्टी छन् । यी चार राजनीतिक दलको पृष्ठभूमि, समर्थन क्षेत्र, इतिहास र संगठनमा समानता छैन ।

सवैभन्दा शक्तिशाली टिम नेकपा एमाले छ । यो पार्टीको नेतृत्वमा प्रम ओली स्वयम् हुनुहुन्छ । यो पार्टी राजनीतकरुपले विभाजित छ तर प्राविधिकरुपले एउटै छ । पार्टीको प्रभावशाली नेताद्वय माधव र झलनाथ समूह प्रम ओलीको राप र तापमा समानान्तर संगठन निर्माणमा जुटेको छ । संसदीय राजनीतिमा भने राजनीतिक निर्णय भन्दा प्रम ओलीसंँग संझौतावादी बाटोवाट अगाडि बढ्नुमा नै यो समूहले उचित ठानेको अवस्था छ ।

माधव र झलनाथ समूह प्रम ओलीको कार्यशैलीको विरोधी छ  । प्रम ओलीले माधव नेपाललाई पार्टी भित्र अनुशासनहीन काम गरेको भनेर ६ महिनाको लागि पार्टीवाट निष्काशन गरेको अवस्था छ । यसरी एमाले पार्टी भित्र मल्लयुद्ध चलिरहेको  छ ।

पार्टी भित्र आफ्नो समूहलाई ओली समूहले पेलेको अनुभूति गरेर समानान्तर पार्टी गतिविधि गरिरहेको माधव समूह यतिखेर ठूलै संकटमा फसेको छ । प्रम ओलीलाई क्रस गरेर आफ्नो छुट्टै साहसिक राजनीतिक कदम लिनसक्ने आँट माधव नेपालमा देखिएन । अझ संसदीय खेलमा यो समूह लाचार र आफ्नो “लोगो” जोगाउन बढी कृयाशील भएको देखिन्छ ।

खेल मैदानमा अर्को खेलाडी नेपाली कांँग्रेस छ, यसको नेता शेरबहादुर देउवा हुनुहुन्छ । कांँग्रेससंँग नयाँ सत्ता समिकरण गर्नसक्ने संख्या र उर्जा दुबै कमजोर छ । संसदको २७५ संख्यामा यो दलसंँग ६१ जनामात्रको संसद भित्र शक्ति छ । यसर्थ, शेरबहादुर देउवा संसदीय दलको नेता भएर पनि उहाँ प्रम हुन अनिच्छुक मात्र होइन, रहस्यमय निष्क्रियतामा बस्नुभएको छ ।

देउवा वृहत लोकतान्त्रिक हित र संविधानको रक्षा के गर्दा हुन्छ भन्ने कुराकै निर्क्यौल गर्न नसकिरहेको दुविधामा देखिनुहुन्छ । प्रम ओली निरंकुश र अधिनायकवादी चरित्र देखाइरहनु भएको छ  भने लोकतन्त्रको रक्षक भनिने कांँग्रेस नेताको हैसियतले देउवाले नयाँ सरकार निर्माणमा विकल्प दिन नेतृत्वदायी भूमिका खेलेको देखिएन । प्रम ओली निरंकुश र अधिनायकवादी भनी कांँग्रेस केन्द्रिय कार्य समितिमा  निर्णय भएको छ । तसर्थ प्रम ओलीको प्रम पदवाट वहिर्गमन देउवाको जिम्मेवारी पनि हो । देउवा कांँग्रेसले लिने ऐतिहासिक जिम्मेवारीबाट भाग्दैहुनुहुन्छ भनी राजनीतिक वृतमा आलोचना हुन थालेको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नयाँ सरकार निर्माणमा सैद्धान्तिकरुपमै सकृय देखिनुभएको छ  । तर उहाँ संसदमा हुनुहुन्न । यसर्थ प्रभावकारी हुनेसक्ने संभावना कमै छ । उहाँको सकृयतालाई बिँड तातेको मान्नुपर्ने हुन्छ, ताप्के होइन । कांँग्रेसलाी यतिखेर कुन भूमिकामा राख्ने र कोसंँग कसरी अगाडि बढ्ने भन्ने प्रश्न जति चुनौतिले भरिएको छ, त्यो भन्दा बढी प्रम ओलीलाई कसरी बुझ्ने भन्ने प्रश्न ठूलो छ । कांँग्रेस नेता देउवा प्रम हुनु नहुनु ठूलो कुरो होइन तर उहाँले वर्तमान प्रम ओलीलाई कसरी बुझिरहनु भएको छ यो प्रमुख कुरा हो ।

माओवादी केन्द्र र यसका नेता प्रचण्ड सत्ता खेल मैदानका अर्का खिलाडी हुनुहुन्छ । उहाँ ज्योतिष झैं जोखाना हेरेर बस्नुभएको छ यतिखेर । उहाँको समर्थनमा प्रम ओली अझै दम्भ देखाउँदै हुनुहुन्छ । प्रचण्डको माओवादी केन्द्रले प्रम ओलीको समर्थन अझै नलिनुमा प्रचण्ड तत्काल चुनाव फेस गर्न चाहनुहुन्न भन्ने अनुमान लगाउन सकिन्छ । तर जति प्रम ओलीको समर्थन प्रचण्डबाट लम्बिदै जान्छ उहाँको कद त्यत्तिनै घट्दछ ।

प्रम ओलीलाई पदवाट हटाउनु उहाँको रहर होइन वाध्यता हो भनी नागरिकले बुझेका छ । अहिले प्रचण्डले खेल्ने भूमिका भनेको ओलीको समर्थन तत्काल फिर्ता लिनु हो । प्रचण्डको स्थिति यतिखेर राजनीतिकरुपले कमजोर छ र उहाँको संसदीय शक्ति पनि कमजोर छ । राजनीतिमा आउने यो सामान्य उतार चढावलाई प्रचण्डले जति चाँडो बुझ्नुहुन्छ त्यत्तिनै उहाँले पुन शक्ति आर्जन गर्न सक्ने संभावना छ । उहाँसंँग नैतिक र राजनीतिक शक्ति पनि छैन र साथीभाई पनि लाखापाखा लागेको अवस्था छ । यी सवै संकटबाट पार पाउन प्रचण्डले  केही निर्णय गरेको देखिनुपर्छ र त्यो निर्णय भनेको प्रमलाई दिइरहेको समर्थन फिर्ता नै हो । त्यसपछि आउने राजनीतिक घटनक्रमलाई फेस गर्न तयार भए उहाँले राजनीतिक अक्सिन त्यहीँबाट पाउने हो ।

संसद भित्र  प्रचण्डको आफ्नो वैध  शक्ति ४८ संख्यामा  सीमित भएका छ । उहाँको पार्टीको यो शक्तिले वर्तमान सरकार अल्पमतमा पर्छ । अत: प्रचण्डले गर्ने राजनीतिक निर्णय यत्ति हो । त्यसपछि नयाँ सरकार कोसंँग र कसरी बन्छ वा बन्दैन त्यो उहाँ मात्रको जिम्मेवारी होइन । माओवादी, कांग्रेस र जसपाबीचको समझदारीवाट नयाँ सरकार बन्न नसक्दा त्यसको जिम्मेवारी प्रचण्डको मात्र काँधमा आउँदैन ।

चौथो खेलाडी जनता समाजवादी पार्टी र यिनका नेता छन् । यो पार्टीको नेता को हो थाहा छैन । तर प्रम ओलीलाई रेस्क्यू गर्ने ३२ सांसद यो पार्टीसंँग छ । यो पार्टी एकढिक्का भएर आउँदा प्रम ओलीको सरकारको विकल्प निर्माण हुनसक्छ । यसको अर्को पाटो पनि छ ।

यो पार्टीको आधा शक्ति पनि तत्काललाई प्रम ओलीको सिंहासनलाई जोगाउन सहायक हुनसक्छ । जसपाको आधा शक्ति प्रम ओलीको पछाडि जानेछ भनी महन्थ ठाकुरको वोलीमा बुझिन्छ । यो अनमेल जोडीको मेलमिलाप भए मधेसको मुद्दा संवोधन हुने विश्वास महन्थ ठाकुरको छ। यहाँनेर भन्नैपर्ने हुन्छ, महन्थजी लामो समय राजनीति गरेर पनि अझै एमाले पार्टी र अझ केपी ओलीलाई बुझ्न असमर्थ हुनुहँदो रहेछ भनेर ।

किन हो, रहस्यमय तरिकाले यतिखेर महन्थ ठाकुर जसपाकोे सार्वजनिक “फेश” हुनुभएको छ । उहाँ यतिखेर “ नगदीमा डिल” गर्ने भनी प्रम ओलीसंँग नजिकिएको अवस्था छ । महन्थको पाँच वुँदे माँगपत्रलाई विगतमा नगदी र उधारो दुवैमा डिल गर्न नरुचाउने पात्र प्रम ओली नै हो । तर अहिले समय फेरिएको छ । महन्थलाई प्रम ओलीको जरुरत नहुन पनि सक्छ, तर प्रम ओलीलाई महन्थसंँग नगदी डिल गर्नुपर्ने वाध्यता छ सरकार टिकाउन । मधेस मुद्दको प्रखर विरोधीसंँग बसेर महन्थ नगदी डिल मात्र गर्दैहुनुहुन्छ भनी पत्याउन सहज छैन । यो उहाँको वाध्यता हो । र, यो वाध्यताको मूल्य मधेस राजनीतिले ठूलै चुकाउनु पर्नेछ भावी दिनमा ।

प्रम ओली ठूलो रिस्क उठाएर राजनीति हार्दैहुनुहुन्छ यतिखेर । उहाँ हारिरहँदा नेपालको कम्युनिष्ट आन्दोलन पनि हार्दैछ, उहाँको पार्टी विघटन र विभाजनको संघारमा पुगिसकेको छ । कांँग्रेस नेता देउवा सामान्य रिस्क पनि उठाउन नसकेर लोकतन्त्र धरापमा पार्दैहुनुहुन्छ भनी डराउनु पर्ने अवस्था देखिँदैछ । यहाँ हार्ने देउवाले मात्र होइन, लोकतन्त्र र संविधान नै धरापमा पर्दैछ । मधेसवादी नेता महन्थलाई कमजोर र लाचार प्रम ओली यतिखेर प्यारो लाग्न सक्छ तर उहाँको मधेस राजनीति यो सत्संगमा हार्नेछ भन्ने अनुमान अहिले नै गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर