काठमाडौँ, २२ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर रु १०३ पुगेको छ ।

नयाँ मूल्यसूची आज मध्यराति १२ बजेदेखि लागू हुनेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । निगमको आजको निर्णयअनुसार नै मूल्यवृद्धि गरिएको हो । पछिल्लो पटक अप्रिल १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार नै मूल्य समायोजन गरिएको हो । मूल्य समायोजन नगर्दा निगमलाई मासिक एक अर्ब नौ करोड रुपैयाँ बराबरको घाटा हुने अवस्था आएको जनाइएको छ ।

भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोलमा ३० रुपैयाँ ४७ पैसा र डिजेलमा प्रतिलिटर ३६ रुपैयाँ ६३ पैसा नेपालतर्फ नै सस्तो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर