काठमाडौँ, १० जेठ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणबारे छानबिन गर्न ‘संसदीय विशेष छानबिन समिति’ गठन गर्न माग गर्नुभएको छ ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको सुरुमै समय माग गरी उहाँले अहिले भइरहेको छानबिनले जनताले चाहे जस्तो नतिजा दिन सक्दैन भन्नुभयो । “नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्ले नै विशेष छानबिन समिति बनाउनुपर्छ । भ्रष्टचारको विषयलाई लिएर हामीले बारम्बार कुरा उठाउँदै आएका थियौँ, तीन राजनीतिक दल बसेको विषयमा आशङ्का व्यक्त गर्दै आएका थियौँ, आज आरोप लाग्न कुनै राजनीतिक दल बाँकी छैन, राज्यका निकायको अनुसन्धानमा नाम आइरहेको छ, अनुसन्धान गर्ने निकायको नाम आइरहेको छ, यस्तो अवस्थामा निष्पक्ष छानबिन हुन्छ भन्न सक्ने आधार छैन”उहाँले भन्नुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणकै सवालमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री निवासमा, सिंहदरबारमा लेनदेनको विषय आइरहेको सन्दर्भ उल्लेख गर्दै यो राज्यमा हामीले कस्लाई विश्वास गर्ने? प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, “विश्वासको वातावरण बन्द भएको छ, यसका लागि संसदीय विशेष समिति बनाएर छानबिन गर्नुपर्ने हुन्छ, जुनजुन निकाय लागि परेका छन् कसैको पनि विश्वास गर्ने वातावरण छैन, छानबिनका क्रममा जसजसको नाम आएको छ उसलाई सोधपुछ गर्न नहुने?, छानबिनसमेत गर्न किन डराउनुपर्ने नाम आएको मान्छेको बारेमा ।” जसजसको नाम आएको छ उनीहरु सबैलाई छानबिनको दायरामा ल्याउनुपर्ने, कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको माग छ ।

“यत्रो ठूलो अन्तर्राष्ट्रिय बेइज्जत भएको अवस्थामा प्रहरी प्रमुखले अडियो सही हो भनिरहनुभएको छ, एक पटक सोधबुझका लागि बोलाउन नहुने को हो उहाँहरु ?” सांसद लामिछानेले भन्नुभयो ।

‘ शून्य समय : शरणार्थी प्रकरणमा स्वतन्त्र छानबिन माग

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि गम्भीर र यथार्थपरक छानबिनको माग गर्नुभएको छ ।

सांसदहरुले सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा प्रविधिको उच्च प्रयोग, नागरिकता विधेयक प्रमाणीकरण, जातीय विभेद्को अन्त्यलगायतका विषय उठान गर्नुभएको छ ।

सांसद शिशिर खनालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै व्यक्तिमाथि छानबिन हुनुपर्ने माग गर्नुभयो । विष्णुमती करिडोरको बाटो निर्माणमा तीव्रताका लागि पनि उहाँले आग्रह गर्नुभयो ।

सांसद डा स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानुनी दायराभित्र ल्याइनुपर्ने बताउनभयो । विपद् जोखिम न्यूनीकरणका लागि सबै संयन्त्र परिचालन गर्नुपर्ने सांसद वाग्लेको भनाइ छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर