धनगढी, ५ जेठ  । नेपालको  भू–स्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको खप्तड क्षेत्रमा पहिलोपटक अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ ।यो सम्मेलन यही जेठको २३, २४ र २५ गते हुँदैछ ।

सम्मेलनको पूर्वतयारीका सिलसिलामा धनगढीमा हिजो बिहीबार भएको छलफलमा सो जानकारी दिइएको हो ।

सम्मेलनको तयारीको लागि प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा चार सय एक सदस्यीय सम्मेलन मूल तयारी समिति गठन गरिएको छ ।

सो समितिअन्तर्गत विभिन्न १२ उपसमिति गठन गरिएको छ ।

खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको बताउनुभयो ।

प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा हुन लागेको सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव र बालकृष्ण आचार्यको पनि सहभागिता रहने जनाइएको छ ।

समुद्री सतहबाट झण्डै तीन हजार दुई सय मिटरको उचाइमा रहेको खप्तड क्षेत्र प्रकृति, पर्यापर्यटन, अध्यात्मिकलगायतको दृष्टिले महत्वपूर्ण रहेको छ ।

सुदूरपश्चिमका डोटी, बझाङ, बाजुरा र अछामको सङ्गम क्षेत्रका रूपमा रहेको यो क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गर्नुभएको थियो । यो क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु)लगायतका आकर्षक संरचना छन् । जडीबुटी पनि पाइन्छन ।

खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झण्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ । अध्यात्मिक पर्यटनको प्रबवद्र्धन गर्दै प्रदेशको समग्र विकासमा टोवा पुर्याउने उद्देश्यले यो सम्मेलन गर्ने पहल गरिएको हो ।

विकासको पहिलो पूर्वाधार मानिने खप्तडमा आहिलेसम्म सडक मार्ग पुग्न सकेको छैन । डोटी जिल्लाको झिङ्गराना हुँदै खप्तड पुगिन्छ । झिङरानासम्म यातायात पुग्ने भए पनि त्यसपछि झण्डै एक दिनको पैदलयात्रापछि मात्र खप्तड पुगिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर