काठमाण्डौं, ४ जेठ । इङ्लिस क्लब म्यान्चेसटर सिटी युरोपियन च्याम्पियन्स् लिगको फाइनलमा पुगेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो खेलमा स्पेनिस क्लब रियल म्याड्रिडलाई ४/० ले एत्तिहादको धुलो चटाउँदै सिटी फाइनलमा पुगेको हो । एत्तिहाद सिटीको घरेलु मैदान हो ।

सिटीले यो खेलमा हाप टाइम अघि दुइ र पछि दुइ गोल गर्यो ।

खेलको २३ मिनेटमा बेर्नार्डो सिल्भाले पहिलो गोल गरेर विजयी सुरुवात गरे । यो खेलमा सुरुदेखि नै सिटीका खेलाडी म्याड्रिडमाथि हावी थिए । त्यतिबेलासम्म सिटीका खेलाडीले बल ८० प्रतिशत आफ्नो पकडमा राखेका थिए ।

खेलको ३७ मिनेटमा सिटीका सिल्भाले पुनः अर्को गोल गरेर सिटीलाई २/० को अग्रता दिलाए ।

सिटीका गोल मेसिन भनिने हालाण्डले भने यस खेलमा गोल गर्न सकेनन् । उनले तीन सुन्दर मौका चुकाए ।

पहिलो हापमा सिटीका सामु निरीह जस्तै देखिएका रियलका खेलाडी त्यसपछि भने बल पकडमा लिन थालेका थिए । तर रियलका प्रहारहरू गोलमा परिणत हुन सकेनन् ।

फेरि ७६ मिनेटमा सिटीका डे ब्रुनोले गरेको कर्नर प्रहार बचाउने प्रयास गर्दा रियलले आत्मघाती गोल खायो र खेल पुरै सिटीको पोल्टामा पुग्यो । ९० मिनेटको निर्धारित समय पनि सकियो । त्यसपछि इन्जुरी टाइम तीन मिनेट थपियो ।

थपिएको तीन मिनेटको समयमा एक मिनेटभित्रै सट्टा खेलाडीको रुपमा मैदानमा छिरेका सिटीका अल्वारेजले अर्को गोल थपेर च्याम्पियन्स् लिगको साविक विजेता रियललाई घुडा धसाए ।

यी दुइबीचको यसअघि म्याड्रिडको घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो खेल १/१ गोलको बराबरीमा रहेको थियो ।

अन्ततः सेमिफाइनलका दुइ भिडन्तबाट समग्रमा ५/१ को गोल अन्तर बनाउँदै सिटीले फाइनलको यात्रा तय गर्यो ।

च्याम्पियन्स् लिगको अर्को सेमिफाइनलको दोस्रो खेलमा एसी मिलानलाई १/०ले हराउँदै ३/० का साथ इन्टर मिलान फाइनलामा पुगिसकेको छ । पहिलो लेगमा इन्टरले एसी मिलानलाई २/० ले हराएको थियो ।

अब च्याम्पियनस् लिगको फाइनल खेल इङ्लिस क्लव म्यान्चेस्टर सिटी र इटालियन क्लव इन्टर बीच ११ जुनमा टर्कीको इस्तानाबुलमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर