देउखुरी, २९ वैशाख । दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहीबार बेलुका घोराही उपमहानगरपालिका–१४ आर्मी ब्यारेक नजिकै रा१ख १२०१ नम्बरको बसले रा३प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रोल्पाको रुन्टीगढी गाउँपालिका–३ का २१ वर्षका चन्द्रबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
ट्र्याक्टर दुर्घटनामा एक मजदुरको मृत्यु
रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार रा१त ३८८१ नम्बरको ट्र्याक्टर गए राति लुङ्ग्री गाउँपालिकाको मछेटीमा दुर्घटना भएको हो । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
लुङ्ग्रीको दोमैमा सडक निर्माणमा खटिएका कामदार काम सकेर बास बस्नका लागि किलाचौरतर्फ जाँदै गर्दा ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका मजदुरको प्राथमिक स्वास्थ्यचौकी सुलीचौरमा उपचार भइरहको छ ।
