नवलपुर २३ , बैशाख । नवलपुर जिल्लाको देवचुली- १७ मा हिजो शुक्रबारबाट ‘घडियाल काव्य उत्सव–२०८०’ सुरु भएको छ ।
सन् १९७० बाट नै दुर्लभ मानिएको अति सङ्कटापन्न अवस्थाको जीव घडियाल गोहीको साहित्यमार्फत् संरक्षणको लागि सघाउने हेतुले घडियाल काव्य उत्सवको यो दोस्रो संस्करण हो ।
यो उत्सवको मुख्य संरक्षकका रूपमा देवचुली नगरपालिका रहेको छ भने आयोजक ह्याप्पी एफएम हो ।
उत्सवका आयोजक एवं ह्याप्पी एफएम प्रबन्ध निर्देशक दिपेश कडरियाका अनुसार पहिलो संस्करणका विषयवस्तु र मुद्दालाई परिस्कृत तथा परिमार्जित गर्दै यसपालीको उत्सव मनाइदैछ ।
‘घडियाल काव्य उत्सव–२०८०’ सहभागी हुँदै नेपाली कांग्रेसका नेता एवं सांसद डाक्टर शशाङ्क कोइरालाले घडियाल गोहीको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।उहाँले सङ्कटापन्न अवस्थाको घडियाल गोही संरक्षण गर्नु नागरिक र सरकार दुवैको कर्तव्य भएको बताउनुभयो ।
“घडियाल गोहीको संरक्षणका लागि सबैभन्दा पहिला पानीको संरक्षण गर्न जरुरी रहेकोे छ”, उहाँले भन्नुभयो । पानीका मुहान जोगाउन र पानी सफा राख्न सबैले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
उत्सवको दोस्रो दिन आज शनिबार ‘प्रकृतिसँग साहित्य’, ‘शिरको गाथा तीरको व्यथा’ र ‘वैभवशाली देवचुली शीर्षक’मा बहस तथा छलफलका कार्यक्रम हुँदैछन् । आज बिहानबाट काव्य वाचनको कार्यक्रम सुरु भएको छ । काव्य वाचनमा गण्डकी प्रदेशसहित मध्यनेपालका १८ जना स्रस्टाले कविता वाचन गर्दै हुनुहुन्छ ।
आजको छलफलमा महानायक राजेश हमाल, साहित्यकार भूपिन खड्का, देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपाने, बुलिङटार गाउँपालिका अध्यक्ष दीपेन्द्र सुनारी, विष्णुप्रसाद भुसाल, मोहनप्रसाद मरासिनीको सहभागिता हुँदैछ । विभिन्न तीन चरणमा हुने आजको छलफलमा छुट्टाछुट्टै विषयवस्तुमाथि छलफल गरिने कडरियाले बताउनुभयो ।
कार्यक्रमका लागि पिप्रहरस्थित होमस्टे परिसरमा खरको छानो हालेर आकर्षक मञ्च बनाइएको छ । खर र बाँसबाट निर्मित मञ्चमा परालको गुन्द्री ओछ्याइएको छ भने कोर्को, हलो, जुवा, फुर्लुङ, ढडिया, ठेकी, डालोलगायतका परम्परागत सामग्रीहरूले सजाइएको छ । उत्सवको पहिलो दिन शुक्रबार ‘सङ्कटमा घडियाल : लोभदेखि लोपसम्म’, ‘वेग र भेगको दोसाँधमा नारायणी’, ‘शिक्षाको संरक्षण कि संरक्षणका लागि शिक्षा’, ‘चराचरमा चरा’, ‘नवलपुरमा राष्ट्रिय निकुञ्ज आवश्यकता कि बाध्यता’ गरी पाँच वटा चरणमा कार्यक्रम भएका छन् ।
छलफलमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसी, पूर्वमन्त्री गणेश शाह, मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारी, गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी सहभागी हुनुहुन्थ्यो ।
त्यसैगरी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह, चितवन राष्ट्रिय निकुञ्ज सौराहाका सेक्टर प्रमुख सरोजमणि पौडेल, डब्लुडब्लुएफका प्रतिनिधि डाक्टर घनश्याम गुरुङ, नेपाल वातावरण पत्रकार समूहकी अध्यक्ष रोशनी अधिकारी, संरक्षणकर्मी डिबि चौधरीसहितका व्यक्तिले छलफलमा सहभागिता जनाउनुभएको थियो ।
निकुञ्जको मुख्य कार्यालय चितवनमा रहेको र नवलपरासीवासीले निकुञ्जसँग सम्बन्धित स–साना कुरामा पनि सेवा लिन जिल्ला बाहिर जाँदा सास्ती खेप्नुपरेको विषयलाई छलफलमा चर्चा गरिएको थियो । रासस
