काठमाण्डौं, २३ बैशाख । राजधानी काठमाण्डौं उपत्यकालगायत वाग्मती र मधेश प्रदेशमा आज मौसम सफा रहने छ । तर कोशी, गण्डकी र कर्णाली प्रदेशमा भने पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोछ । अहिले देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेको छ । दिउँसो कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
रातिको समयमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भेगमा बदली रहनुका साथै ती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।रासस
