दोधारा चाँदनी, ९ वैशाख । बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला परेको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइँकी गङ्गा चन्दको शव आज बिहान फेला परेको हो । महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई पनि राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको छ ।
प्राविधिक टोली करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो । बाघ नियन्त्रणमा लिएकै स्थानमा महिलाको शव पनि फेला परेको प्रहरीले जनाएको छ ।
“बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघ नियन्त्रणमा लिएको छ”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश डाँगीले भन्नुभयो, “बाघ फेला परेकै स्थानमा महिलाको शव पनि फेला परेको छ ।” चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो ।
सो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा लगिएको जानकारी दिनुभयो । “आवश्यक प्रक्रिया पूरा गर्नाका साथै केही समय बाघलाई निगरानीमै राख्छौँ”, उहाँले भन्नुभयो, “पछि माथि विभागको निर्देशनअनुसार नियन्त्रणमा लिइएको बाघबारे थप निर्णय लिन्छौँ ।”
केही समयअघि पनि पुनर्वास नगरपालिकामा एक महिलाको बाघकै आक्रमणबाट ज्यान गएको थियो । सो घटनापछि दक्षिण क्षेत्रका स्थानीय त्रसित छन् ।रासस
