पर्वत, ३ वैशाख । सङ्घीयताको कार्यान्वयनसँगै स्थापना भएका नयाँ नगर र गाउँपालिकाका मुकाममा तीव्र सहरीकरणसँगै फोहर व्यवस्थापनमा चुनौती थपिन थालेको छ । कतिपय पालिकालाई फोहर व्यवस्थापन गर्न धौधौ परेको छ भने कतिपयले व्यवस्थितरूपमा विसर्जनमात्र होइन, यसबाट आम्दानीसमेत गरिरहेका छन् ।

यसमध्ये कुश्मा नगरपालिकाले बजार क्षेत्रको फोहर व्यवस्थापनवाट दैनिक रु १० हजार आम्दानी गर्दै आएको छ ।

बजार क्षेत्रको फोहर व्यवस्थापनमा लामो समयदेखि समस्या झेल्दै आएको कुश्माले फोहर वर्गीकरण गरेर व्यवस्थापन सुरु गरेको तीन वर्ष पुगेको छ । नगरभित्रको फोहरलाई कुहिने र नकुहिने गरी व्यवस्थापन सुरु गरेको कुश्माले दुई वर्षदेखि फोहरबाट आम्दानी गर्न थालेको हो ।

कुश्मा–४ छमर्केस्थित घुम्तीमा फोहर व्यवस्थापन गरिँदै आएको पालिकाले जनाएको छ । जग्गा छनोटमा तीन वर्षसम्म सङ्घर्ष गरेको कुश्माले विसं २०७६ फागुनमा मध्यपहाडी लोकमार्गको छमर्के घुम्तीबाट पाँच सय मिटर तल जङ्गलभित्रको खाली जग्गा फेला पारेको थियो ।

बत्तीस रोपनी जग्गा पालिकाले १० वर्षका लागि लक्ष्मीनारायण गुठी तथा अन्य चार व्यक्तिसँग भाडामा लिएर फोहर व्यवस्थापन सुरु गरेको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । उहाँका अनुसार सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्र ९सेक्रेट नेपाल०सँगको साझेदारीमा पाँचवर्षे सम्झौता गरी फोहरको व्यवस्थापन भइरहेको छ ।

नगरपालिकाको वडा नं ४, ५, ६, ७, ८ र ९ वडाभित्रको फोहर सङ्कलन गरी व्यवस्थापन सुरु गरेको छ । केही समय गुप्तेश्वर बहुमुखी क्याम्पसको छेवैमा पोखरा–बाग्लुङ सडक र बडागाउँको डिलबाट फोहर विसर्जन गर्दा स्थानीय र सरोकारवालाले विरोध गरेपछि नगरले विकल्प खोजेको थियो ।

त्यसरी फालेको फोहर सिधै कालीगण्डकीमा मिसिने र त्यसले वातावरणमा गम्भीर असर पर्ने गरेको जनाउँदै पुनरावेदन अदालत बागलुङमा रिट निवेदन परेपछि जग्गा भाडामै लिएर व्यवस्थापन गरिँदै आइएको थियो । यसपछि आम्दानीसमेत हुन थालेको नगरपालिकाले जनाएको छ ।

कुश्माले कुहिने फोहरलाई खाडलमा थुपारेर कम्पोस्ट मलका रूपमा बिक्री गरिरहेको छ । सेक्रेट नेपालका कार्यक्रम संयोजक टीकाराम भुसालका अनुसार कुहिनेभन्दा नकुहिने फोहरबाट राम्रो आम्दानी हुने गरेको छ । अहिले सेक्रेटले फोहर वर्गीकरणमा मात्रै १२ कामदार खटाएको छ ।

व्यवस्थित वर्गीकरण सुरु भएपछि दैनिक १० हजारसम्म आम्दानी हुनुको साथै कुश्मा बजार सफा र चिटिक्क देखिएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर