– खेमराज गौतम

गलकोट, ३ वैशाख ।  बागलुङ नगरपालिकाको १५ शय्याको अस्पताल पहिलो तला ढलानको तयारी गरिएकै छ महिना बित्यो । छ महिनादेखि अलपत्र अवस्थामा रहेको अस्पताल भवनको छडमा खिया लाग्न थालेको छ । ढलानका लागि खरिद गरिएका कच्चा सामग्री पतकरले छोपिएका छन् ।

अलपत्र अवस्थामा रहेको अस्पताल भवनको ठेक्का मिति सकिने बेलासम्म कामले गति नलिँदा त्यहाँका स्थानीयले निर्माण व्यवसायीको आलोचना गरेका छन् । निर्माण सम्झौताको २१ महिनामा पहिलो तलासमेत ढलान हुन नसकेको बताइएको छ ।

“नगर अस्पतालले पुरानो भवनबाट सेवा दिन सुरु गरेकै दुई वर्ष भयो तर अस्पतालमा डाक्टर छैनन्, जनस्वास्थ्य निरीक्षकको भरमा अस्पताल छ, निर्माणधीन नयाँ भवनको निर्माण ठप्प छ”, स्थानीय बालकृष्ण शर्माले भन्नुभयो, “स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाए पनि सेवा स्वास्थ्य चौकीकै छ, १५ शय्याको अस्पताल भवन निर्माणकार्य ठप्प भएको छ ।”

अहिले जम्मा २० प्रतिशमात्रै काम भएको प्राविधिकको भनाइ छ ।  निर्माण व्यवसायीको लापरवाहीका कारण भवन निर्माणले गति लिन नसकेको हो । अस्पताल सम्पन्न गर्नुपर्ने मिति आउन मात्रै जम्मा तीन महिना बाँकी रहँदा पहिलो तला ढलान हुन नसक्नु दुखद् विषय बनेको बागलुङ नगर उपप्रमुख राजु खड्काले बताउनुभयो ।

बागलुङ –१३ पैयुपाटा स्वास्थ्यचौकीलाई नै नगर अस्पतालका रूपमा नामकरण गरेको बागलुङ नगरपालिकाले नयाँ भवन निर्माणका लागि रु १२ करोड ८७ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

सरकारले प्रत्येक पालिकामा १५, १० र पाँच शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार स्वास्थ्यको पहुँचबाट टाढा रहेको नगरपालिकाको दक्षिण भेगलाई लक्षित गरी नगर अस्पताल निर्माण थालिएको हो ।

पन्ध्र शय्याको यो अस्पताल भवन निर्माण गर्न श्री महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते रु १२ करोड ८७ लाखमा सम्झौता भएको थियो । उक्त भवन २०८० साल असार २० गतेसम्म सक्नुपर्ने सम्झौता रहेको छ ।

ठेक्का सम्झौता भौगोलिक जटिलता, निर्माण सामग्रीको अभाव तथा सडकमार्गको अबरुद्धका कारण भवन निर्माणले गति लिन नसकेको बताउँदै भवन निर्माणको जिम्मा पाएको महालक्ष्मी जुगल जेभीका प्रतिनिधि नरेश ओझाको भनाइ छ । रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर