म्याग्दी, ३ वैशाख । कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको छ ।
इलाइट एक्सपिडिसनमार्फत उहाँले शनिबार अपराह्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल हुनुभएको हो ।
अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ ।
पर्वतारोही निर्मल पुर्जा (निम्स) नेतृत्वको शेर्पाहरूको टोलीको सहयोगमा थानीले अन्नपूर्ण आरोहण गर्नुभएको इलाइट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड शेर्पाले जानकारी दिनुभयो ।
“विश्वको दशौँ अग्लो शिखर अन्नपूर्ण हिमालको आरोहण गर्ने थानी पहिलो कतारी महिला बन्नुभएको छ”, उहाँले भन्नुभयो, “आस्मासहित अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलस्डेयर स्कट म्याकेन्जीले पनि अन्नपूर्ण आरोहण गर्नुभएको छ ।”
टोलीमा रहेका मिङ्मातेन्जी शेर्पा, दोर्ची शेर्पा र तेजन गुरुङले पनि अन्नपूर्णलाई सफलतापूर्वक आरोहण गर्नुभएको छ । राजकुमारी अल थानीले यसअघि सगरमाथा, धवलागिरि, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु हिमालको आरोहण गर्नुभएको थियो ।
पेसाले चिकित्सक रहेकी थानी कतारको ओलम्पिक कमिटीको पनि नेतृत्व गर्नुभएको थियो । अन्नपूर्ण हिमाल आरोहणका लागि २०७९ फागुन २२ गते थानी म्याग्दीमा आउनुभएको थियो । रासस
