रामपुर, २७ चैत । पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ । निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण पुरा भएको हो ।

नयाँ भवनको संरचना तयार भएपछि स्थानीयहरू विशेषज्ञसहितको सेवा पाउने आशामा छन् । यो अस्पताल २०७२ सालमा पचास शय्यामा स्तरोन्नति भए तापनि पन्ध्र शय्याकै पुरानो भवनमा खुम्चिएको थियो ।

अब नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा धेरै सहज हुने स्थानीयवासी तथा अस्पताल विकास समितिका पूर्वउपाध्यक्ष फणेश्वर गौतम बताउनुहुन्छ ।  उहाँको भनाइ छ “भवनको संरचना तयार भएको हुदा विशेष सेवा रामपुरबाटै पइने भएपछि स्थानीयलाई अन्यत्र जानुपर्ने समस्या हट्नेछ ।”

एक हजार सात सय वर्गमिटरमा बनेको अस्पतालको भवनसहितको संरचना तयार गर्न  भ्टबाहेक रु २० करोड दुई लाख लागेको छ ।  भवन निर्माण कार्य आर्थिक वर्ष २०७२/७३ को पुसदेखि सुरु गरिएको थियो । कोभिड–१९ को असरले गर्दा निर्समाण कार्य लम्बिन पुग्यो ।

अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारले पचास शय्यामा स्तरवृद्धि भए पनि भवन निर्माण नहुँदा प्राथमिक सेवा केन्द्रको संरचनामा सेवा प्रदान गर्दै आएकोमा नयाँ भवनबाट बहुविशेषज्ञ सेवा दिने लक्ष्यसहित अघि बढेको बताउँदै हिजोको दिनमा भन्दा फरक ढङ्गले सेवा प्रवाह गर्ने जानकारी दिनुभयो ।

पाल्पाको पूर्वी भेग, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्र भागमा रहेको यस अस्पताल कालीगण्डकी करिडोर सडकसँगै जोडिएको छ । सडक सञ्जाल विस्तार र जनघनत्व बढ्दै जाँदा यस अस्पतालमा बिरामीको चाप उत्तिकै बढ्दो छ ।

हिजोका दिनमा सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि रामपुर अस्पतालमै जाने क्रम बाक्लिदो छ । यहाँ दैनिक तीन सय बढी बिरामीले सेवा लिइरहेका छन् ।

पाल्पा सदरमुकाम तानसेन देखि करिब ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा हाल प्रसूति, एपेण्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतको शल्यक्रियामार्फत उपचार हुन थालेपछि स्थानीयलाई ठूलो राहत पुगेको छ ।

सो समस्याको उपचारका लागि यसअघि सदरमुकाम तानसेन, बुटवल, पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता थियो ।

प्रदेश सरकारको मातहतमा रहेको रामपुर अस्पताल लुम्बिनी प्रदेशको नजरमा रहेकाले अस्पताललाई ट्रमा सेन्टरको रुपमा अघि बढाउनुपर्ने, रामपुर अस्पताल पालिकास्तरमा निर्माण भएका अन्य अस्पतालको अभिभावकत्व ग्रहण गर्ने र विशेषज्ञ सेवा दिने अस्पतालको रुपमा स्थापित हुनु आवश्यक रहेको लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले बताउनुभयो ।

पचास शय्याको अस्पताल भएकाले यहाँ नौ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो । सेवाको क्षेत्रलाई विस्तार गरी २०६७ सालमा १५ शय्यामा स्तरोन्नति भई सेवा दिँदै आएको उक्त अस्पतालको २०७२ सालमा ५० शय्यामा स्तरोन्नति गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर