चितवन, २७ चैत । चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ ।अस्पतालमा पिआइसियु, सिसियु,  बर्न युनिट र अक्सिजन प्लान्ट  थप गरिँदै छ भने आइसियु र एनआइसियु सेवा विस्तार गरिँदै छ ।

अस्पतालको ६७औँ वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार र थप गर्न लागिएको हो ।

अक्सिजन प्लान्टबाहेकका सेवा नयाँ वर्षसँगै सञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

जन्मेको २८ दिनपछि १४ वर्षसम्मका बालबालिकालाई सघन उपचार आवश्यक परेमा राख्नका लागि अस्पतालमा पिआइसियुको अभाव रहँदै आएकामा आठ शय्याको यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो ।

नवजात शिशुलाई एनआइसियु र १४ वर्षमाथिकालाई आइसियुमा राखेर उपचार गर्ने गरिन्छ ।

यसैगरी आगोले पोलेका बिरामीका लागि पहिलो पटक बर्न युनिट सञ्चालनमा ल्याउन लागिएको छ । तीन शय्याको वर्न युनिट सञ्चालनमा ल्याउन लागिएको हो ।

यस्तै २० शैय्या सञ्चालन हुँदै आएको आइसियु  विस्तारपछि ३० शैय्पुयाको हुनेछ । अस्पतालमा एनआरएनएको सहयोगमा अक्सिजन प्लान्ट पनि सञ्चालनमा आएको छ । हाल अस्पतालमा दुई अक्सिजन प्लान्ट सञ्चालनमा छन् ।

भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यहाँ  जनशक्ति र उपकरणको कमीका कारण बिरामीले लामो समय पालो पर्खनुपर्ने बाध्यता छ ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर